ओभरटेक गरेको निहुँमा कुटपिट गरी युवकको हत्या

news

कञ्चनपुर ।  मोटरसाइकल ओभरटेक गरेको निहुँमा एकजना युवकलाई कुटपिट गरी हत्या गरिएको छ ।

मोटरसाइकल ओभरटेक गरेको भन्दै चार जनाले महाकाली नगरपालिका ३ का २२ वर्षीय दीपक पन्तको कुटपिट गरी हत्या गरेका हुन् ।

महेन्द्रनगरबाट दोधाराचाँदनी जाने क्रममा मोटरसाइकल ओभरटेक गरेको भन्दै भीमदत्त नगरपालिका–१५ गोबरैयामा चार जनाले पन्तलाई चक्कु र हेलमेटले कुटपिट गरेको मृतकका आफन्तले बताएका छन् ।

कुटपिटबाट गम्भीर घाइते भएका पन्तको भारतको खटिमास्थित अस्पतालमा मृत्यु भएको हो ।

घटना लगत्तै प्रहरीमा खबर गर्दा समेत प्रहरी घटनास्थलमा नपुगेको आफन्तको गुनासो छ ।

उनीहरुले घटनाको २४ घण्टापछि मुचुल्का उठाइरहेको भन्दै प्रहरीको लापरवाहिले पन्तको ज्यान गएको आरोप लगाएका छन् ।

बाबुसँगै घर फर्किरहेका दिपकमाथि भीमदत्त नगरपालिका–१५ गोबरैयाका १९ वर्षीय विनोद बोहरा, २२ वर्षीय मनिष नाथ, २० वर्षीय नवीन सिंह र जानकी टोलका २२ वर्षीय गणेश लुहारले कुटपिट गरेका हुन् ।

प्रहरीले घटनामा संलग्न चारै जनालाई पक्राउ गरेको छ । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...