
काठमाडौं, साउन १३ । सत्तारुढ गठबन्धनको बैठकले मन्त्रिपरिषद तत्काल विस्तार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषदलाई पूर्णता दिने तथा सरकारका विभिन्न निकायमा गरिने नियुक्ति लगायतका विषयमा एमाले नेता माधव नेपालसहितका शीर्ष नेताहरूबीच बुधबार नै फेरि छलफल गर्ने निर्णय पनि भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले सरकार सञ्चालनका विषयमा आवश्यक सहमतिका लागि मापदण्ड बनाइने बारे पनि छलफल भएको छ ।
देउवा प्रधानमन्त्री भएको दुई साता हुन लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । एमाले नेता माधव नेपाल र जसपाको पार्टी विवाद नटुग्गिँदा मन्मिण्डल विस्तार हुन नसकेको हो ।
जसपा विवादमा उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ भने एमाले एकताको विषय चलिरहेकाले नेता नेपालले निर्णय दिन सक्नुभएको छैन ।
पूर्ववर्ती ओली सरकारले नियुक्त गरेका बाँकी प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गर्ने विषयमा पनि नेताहरुबीच सहमति भएको छ ।
सरकार सञ्चालनको न्यूनतम साझा कार्यक्रम बनाएर अघि बढ्ने समझदारी भएको बैठकमा सहभागी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभएको छ ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।
यसैगरी, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी हुनुहुन्थ्यो । सत्ता गठबन्धन बैठकमा एमालेको माधव नेपालका तर्फबाट डा. विजय पौडेल सहभागि हुनुहुन्थ्यो ।
असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएका देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिनसक्नुभएको छैन । हालै स्वास्थ्य राज्यमन्त्रीमा सांसद उमेश श्रेष्ठलाई नियुक्त गरेकामा बैठकमा आलोचना भएपछि उहाँले आइन्दा यस्तो नहुने बचन दिनुभएको बैठकमा सहभागि एक नेताले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्