१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमसीसी र संघीयतामै अल्झने भए गठबन्धनबाट अलग्गने केसीको चेतावनी, श्रेष्ठलाई मन्त्री बनाएकामा देउवाको आत्मालोचना


0
Shares

काठमाडौं, साउन १३ । सत्तारुढ गठबन्धनमा सरकारको प्राथमिकताका बारेमा नेताहरुबीच ठाकठुक परेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरु अमेरिकी आर्थिक सहयोग (एमसीसी) र संघीयतालाई कसरी बलियो बनाउने भन्नेमा बढी केन्द्रित भएपछि जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले आपत्ति जनाउनुभएको हो ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन पाँच दलका नेताको बैठकमा जनमोर्चाका अध्यक्ष केसीले जनता कोरोनाविरुद्धको खोप नपाएर मृत्युवरण गरिरहेका बेला सरकारको प्राथमिकता केमा हुने हो भन्दै प्रश्न गर्नुभएको हो ।

केसीले बैठकमा भन्नुभयो, ‘जनता कोरोनाविरुद्धको खोप नपाएर मरिरहेका छन् । तपाईहरु एमसीसी कसरी पास गर्ने र संघीयता धरापमा प¥यो मात्रै भन्नुहुन्छ । अनि कसरी जनताले यो गठबन्धनको सरकारलाई विश्वास गर्ने ?’

केसीले संघीयता र एमसीसीमै केन्द्रित भइरहने हो भने आफ्नो पार्टी गठबन्धनबाट बाहिरिने र प्रतिपक्षमा बस्ने चेतावनी पनि दिनुभयो ।

यसैगरी, केसीले ‘स्वार्थ बाझिने उमेश श्रेष्ठलाई किन स्वास्थ्य राज्यमन्त्री बनाएको ?’ भन्दै प्रधानमन्त्री देउवासँग आपत्ति जनाउनुभयो । केसीको भनाइमा समर्थन गर्दै माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि राजनीतिक नियुक्ति र निर्णय गर्दा गठबन्धनमा सल्लाह गरिनुपर्ने बताउनुभयो ।

आफूले गरेको निर्णयप्रति प्रश्न उठ्न थालेपछि प्रधानमन्त्री देउवाले ‘एक पटकलाई यस्तो भइहाल्यो आइन्दा यस्तो हुँदैन’ भन्दै आत्मालोचना गर्नुभएको बैठकमा सहभागि एक नेताले बताउनुभयो ।