१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अदालतको परमादेशकै कारण सुविधा खाइरहेका सांसदले विरोध गर्ने ? : बिडारी


0
Shares

काठमाडौं, साउन १३ । सत्तारुढ दलका सांसदहरुले प्रतिनिधिसभा विघटनसम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाप्रति विपक्षी दलले गरेको टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले अदालतको परमादेशकै कारण सुविधा खाइरहेका सांसदहरुले विरोध गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले सर्वोच्च अदालतको फैसला पुनराबलोकन गर्ने ठाउँ संसद नभएको भन्दै संसदमा कुरा उठाउन नमिल्ने जिकिर गर्नुभयो ।

सांसद बिडारीले नेकपा एमाले र माओवादी केन्द्र पनि सर्वोच्च अदालतको परमादेशबाट अलग भएको भन्दै परमादेशबाट बनेका दलमा बसेर परमादेशकै विरोध नगर्न आग्रह गर्नुभयो ।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले जनताको बहुदलीय जनबाद (जबज) विश्वका अन्य कुन मुलुकका कम्युनिष्ट पार्टीले स्वीकार गरेको छ ? भन्ने प्रश्न गर्नुभयो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले वर्तमान सरकार परमादेशबाट बनेको भन्दै विश्वका कुनैपनि मुलुकमा यसरी सरकार नबनेको टिप्पणी गरिरहँदा कांग्रेसका सांसद देवले विश्वका कुन मुलुकका कम्युनिष्टले जबज अंगीकार गरेका छन् भन्ने प्रश्न गर्नुभएको हो ।

बैठकमा सांसद मायाप्रसाद शर्माले रुकुम पश्चिमको त्रिवेणी–४ छहरे बस्ने २५ वर्षीया मनकला खत्रीलाई अज्ञात साूहले बलात्कारपछि हत्या गरेको भन्दै तत्काल छानविन गरी दोषीलाई कारवाही गर्न माग गर्नुभयो । सांसद विमला राई पौडेलले कोरोना भाइरसको जोखिमका कारण औपचारिक वा अनौपचारिक क्षेत्रमा काम गर्ने घरेलु कामदार जोखिममा रहेको भन्दै प्राथमिकताका साथ खोपको व्यवस्था गर्न सरकारसंग माग गर्नुभयो ।

सांसद शारदादेवी भट्टले निर्मला हत्याकाण्डका दोषी कहिले पत्ता लाग्ने र कारवाही गर्ने भन्दै सरकारसंग प्रश्न गर्नुभएको छ । सांसद सिंहबहादुर श्रेष्ठले नागरिकतासम्बन्धी विधेयकलाई चाँडो पारित हुनेगरी प्रक्रिया अगाडि बढाउन माग गर्नुभयो । सांसद शान्तिकुमारी अधिकारी जिसीले बाग्लुङ पश्चिमलाई छुट्टै जिल्ला बनाउन माग गर्नुभएको छ । सांसद खिमलाल देवकोटाले प्रदेश र स्थानीय तहको आवाज बुलन्द पार्ने आफ्नो कदममा राष्ट्रियसभाले हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।