२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मापदण्ड पालना गराएर मात्र परीक्षा लिन निर्देशन


0
Shares

काठमाडौं, साउन १३ । संसदीय समितिले स्वास्थ्य मापदण्ड पालना गराएर मात्र परीक्षा लिने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना (कोभिड–१९) संक्रमणका बीचमा भइरहेका र हुन लागेका परीक्षामा दूरी कायम गराउनुको साथै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी परीक्षा लिने वातावरण मिलाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

समितिले परीक्षामा बस्नुपूर्व सम्पुर्ण परीक्षार्थीको अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने व्यवस्था मिलाउन भनेको छ । संक्रमित परीक्षार्थीलाई छुट्टै कक्षामा राखेर परीक्षा दिने व्यवस्था मिलाउन पनि बैठकले निर्देशन दिएको छ । त्यसैगरी गम्भीर प्रकृतिका र अस्पतालमा उपचार गराईरहेका परीक्षार्थीलाई भने दोश्रो चरणमा परीक्षा दिने व्यवस्था मिलाउन भनेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले मन्त्रालयले बनाएको कोभिड–१९ सम्बन्धी निर्देशिकाअनुसार नै सबै परीक्षा सञ्चालन हुने विश्वास दिलाउनुभयो । मन्त्रालयले कक्षा १२ को परीक्षा गर्दा केन्द्रमा कम्तिामा २ मिटरको दूरी कायम गरी जेड आकारमा सिट कायम राखी परीक्षा लिने व्यवस्था मिलाएको पनि उहाँले जानकारी दिनुभयो ।

समिति सदस्य एवं पुर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कोभिडको बेलामा कक्षा १२ को परीक्षा गरेर शैक्षिक सत्र बचाएको बताउनुभयो । उहाँले महामारीको बेलामा धेरै देशले शैक्षिक सत्र कोल्याप्स गरेपनि नेपालले गरेको यो प्रयत्नलाई सकारात्मक लिनुपर्ने टिप्पणी गर्नुभयो ।

बैठकमा राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले अभिभावको सुझाव र विद्यार्थीमा अध्ययनको क्षयीकरण रोक्नका लागि भएपनि भौतिक उपस्थितीमै परीक्षा सञ्चालन गरिने बताउनुभयो । सदस्य सचिव अर्यालले एसइइको नतिजा अन्तिम चरणमा पुगेको पनि जानकारी दिनुभयो ।