
काठमाडौं, साउन १४ । पार्टी परित्याग गरी एमाले प्रवेश गरेका तर कार्वाहीपछि सांसद पद गुमाएका पूर्वमाओवादी नेताहरुले दिएको मुद्दाको सुनुवाई बिहीबार सर्वोच्च अदालतमा हुँदैछ ।
माओवादी केन्द्रका चार नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्चमा दायर गरेको रिटको सुनुवाईका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलाश तोकिएको छ ।
सर्वोच्चले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र दुई अलग पार्टीमा परिणत भएका थिए ।
माओवादी केन्द्रमा रहेका ती चार नेता माओवादी परित्याग गरी एमालेमा गएर मन्त्री बनेका थिए । पार्टी परित्याग गरेका उनीहरुलाई माओवादीले सांसदबाट हटाएकामा संसद पुनर्वहाली भएपछि अहिले आफ्नो गुमेको पद फिर्ता गराइ पाउँ भन्दै रायमाझी, भट्ट, साह र चौधरीले सर्वोच्चमा रिट दायर गरेका थिए ।
एमालेमा प्रवेश गरेर केन्द्रीयदेखि स्थायी कमिटी र संसदीय दलसमेतका बैठकमा भाग लिइरहेका चारै नेताले आफूहरूले दल त्याग नगरेकाले माओवादीले सांसद पदबाट हटाउनु असंवैधानिक भन्दै पद बहाली गरिपाउँ भन्दै रिट हालेका हुन् ।
फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेपछि ओली सरकारमा मन्त्रीसमेत बनेका थिए ।
प्रतिक्रिया दिनुहोस्