७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


विवाह पञ्चमीमा पाँच सय बढी जन्ती


0
Shares

जनकपुर, मंसिर १५ । जनकपुरधाममा आयोजित विवाह पञ्चमी महोत्सवअन्तर्गत आइतबार शोभायात्रा सहितको स्वयंवर सम्पन्न भएको छ ।

स्वयंवर कार्यक्रममा भगवान् श्रीरामका पिता दशरथको भूमिकामा राम मन्दिरका महन्थ रामगिरी र सीताका पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले निर्वाह गरेका थिए ।

त्रेतायुगमा मर्यादा पुरुषोत्तम भगवान् श्रीराम र जगत्जननी माता सीताको विवाहको भएको स्मरणमा हरेक वर्षक मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमी मनाइँदै आएको छ ।

साताव्यापी रुपमा मनाइँदै आएको विवाह पञ्चमी महोत्सवको आइतबार छैँठौ दिन विवाह उत्सव मनाइँदै छ । विवाह पञ्चमी महोत्सवको मुख्य आर्कषणको केन्द्र विवाह उत्सवलाई भव्य बनाउन वैवाहिक स्थल जानकी मन्दिरमा आकर्षक मण्डप बनाइएको छ ।

आइतबार साँझ वैवाहिक कार्यक्रम आयोजना गरिने छ । वैवाहिक कार्यक्रममा तीन दिनअघि भगवान श्रीरामको नगर अयोध्यबाट ५ सयभन्दा बढीको संख्यामा साधु सन्तसहित जन्तीको समेत सहभागिता रहनेछ ।

विवाह पञ्चमी मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न भइसकेको छ ।

सोमबार रामकलेवासहित जन्तीको विदाई गरी विवाह पञ्चमी महोत्सव सम्पन्न हुनेछ । विवाह पञ्चमी महोत्सव हेर्न देश तथा छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रबाट लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु जनकपुरधाम आएका छन् ।