पोखराका तीनवटा मतदानस्थल नजिक बम विस्फोट, मतदाताहरु त्रसित

news

कास्की, मंसिर १४ । क्षेत्र नम्बर २ को तीनवटा मतदानस्थल नजिक आज बिहान बम विस्फोट भएको छ ।

प्रतिनिधिसभा सदस्यको रिक्त पदका लागि भइरहेको उपनिर्वाचनलाई लक्षित गरी पोखरा–९ को नयाँबजारस्थित नवप्रभात मावि, पोखरा–३३ भरतपोखरीस्थित सरस्वती टीका मावि र पोखरा–१६ अर्मलामा रहेको शान्ति मावि मतदान केन्द्र नजिक बम विस्फोट भएको हो ।

नवप्रभात माविको पर्खालमा क्षति पुगेको छ भने शान्ति मावि र सरस्वती टीका माविको केही पर विस्फोट भएको हो ।

बिहान मतदान सुरु भएलगत्तै त्यस ठाउँमा बम पड्किएको थियो । बम विस्फोट भएपछि केहीबेर मतदान रोकिएको थियो भने मतदाताहरु तित्तरवितर भएका थिए ।

तीन वटै मतदान केन्द्रमा अहिले अवस्था सामान्य भएको र मतदान सञ्चालन गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

बम कसले विस्फोट गराएको हो भन्ने खुलेको छैन । मतदान केन्द्र नजिक बम विष्फोट भएपछि भने मतदाताहरु त्रसित बनेका छन् ।

बम विष्फोटको घटनापछि सुरक्षा व्यवस्थामा थप सर्तकता अपनाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बिहान सात बजेबाट मतदान सुरु भएपनि चिसोका कारण मतदाताहरुको उपस्थिति न्यून संख्यामा रहेको हाम्रा स्थानीय सहकर्मीले जानकारी दिएका छन् । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...