
काठमाडौं, साउन १५ । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेका तीन जना सांसदको पद गुमेको छ ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै उनीहरुलाई पदमुक्त गरेको हो । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् ।
उनीहरुले प्रदेश सभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने जसपा (उपेन्द्र यादव पक्ष) को ह्विप उल्लंघन गरेर पक्षमा मतदान गरेको भन्दै पदमुक्त गरिएको हो ।
जसपा कार्यकारिणी समितिको बैठकले ह्विप उलंघन गरेको भन्दै गत असार ३ गते उनीहरु तीन जनासहित सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको थियो । रायमाझीले आफू पार्टी संस्थापन पक्षतर्फ लाग्ने बताएकाले उनलाई कारबाही गरिएन ।
बाँकी तीन जनाले त्यो बेला स्पष्टीकरण दिए पनि त्यसपछि पनि सरकारबाट फिर्ता हुन पार्टीले दिएको निर्देशन उल्लंघन गरेकाले कारबाही गरिएको बताइएको छ । जसपा लुम्बिनी प्रदेश संसदीय दलले हिजो मात्रै प्रदेश सभालाई कारबाहीका लागि पत्र लेखेको थियो ।
प्रतिक्रिया दिनुहोस्