
काठमाडौं, साउन १५ । नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच क्रियाशील सदस्यताको विवाद मिलाउन नयाँ मापदण्ड बनाउने सहमति भएको छ ।
शुक्रबार सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच भएको छलफलपछि यस्तो सहमति बनेको हो ।
क्रियाशील सदस्यता छानविन समितिले करिब एक सय वडा तथा आधा दर्जन जिल्लाको विवाद समाधान गर्न नसकेपछि हिजो शिर्ष नेतालाई पाँच दिनभित्र विवाद टुंग्याउने जिम्मेवारी दिएको थियो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौभित्रै महाधिवेशन सक्ने गरी विवाद टुंग्याउन नयाँ मापदण्ड बनाउने सहमति भएको जानकारी दिनुभयो ।
सहमहामन्त्री प्रकाशशरण महतका अनुसार बारा, सप्तरी, धनुषा–४, सर्लाही–२ सहित १ सयभन्दा बढी वडा र अन्य दलबाट पार्टी प्रवेश गरेका नेता कार्यकर्तालाई सदस्य दिँदा देखिएको विवाद समाधानका लागि नयाँ मापदण्ड बनाउने सहमति भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्