२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


काठमाडौं-तराई/मधेश द्रुतमार्गको प्रगति १६ प्रतिशत, बजेट र विवाद समाधान गर्न सेनाको आग्रह


0
Shares

काठमाडौं, साउन १५ । काठमाडौं–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको आर्थिक वर्ष ०७७/७८ मा कुल विनियोजित रकमको ९७.३५ प्रतिशत कार्य प्रगति भएको नेपाली सेनाले बताएको छ ।

शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले गत आ.व. २०७७/७८ मा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा वार्षिक प्रगति ९७.३५ प्रतिशत भएको जानकारी दिनुभयो ।

उहाँले आ.व. ०७६/७७ सम्म समष्टिगत भौतिक प्रगति ११.११ प्रतिशत रहेकोमा गत आ.व. ०७७/०७८ मा आयोजनाको कुल कार्य अंशको थप ५.१० विन्दु प्रतिशत काम सम्पन्न भएको बताउनुभयो । त्यस्तै आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा १६.१० प्रतिशत प्रगति हासिल भएको उहाँले स्पष्ट पार्नुभयो । अयोजनाको स्वीकृत डिपीआर अनुसार १७५ अर्व लागत अनुमान रहेकोमा आयोजनाको शुरुबाट हालसम्म कुल बजेट खर्च २५ अर्ब ३९ करोड रुपैयाँ भएको उहाँले बताउनुभयो ।

आयोजनाको कुल लम्वाई ७२.५ कि.मी. मध्ये ३ वटा सुरुङ मार्गको जम्मा लम्बाई ६.४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १०.५९ कि.मी. र खुद सडक खण्डको लम्बाई ५५.५ कि.मी. रहेको जानकारी दिदैँ आयोजना प्रमुख पोखरेलले यसमध्ये आयोजनाको ४४.१ कि.मि. सडक खण्डको सब ग्रेड लेभलसम्म तयार गर्न समष्टिगत माटो काट्ने÷पुर्ने कार्यहरु हालसम्म ९० प्रतिशत सम्पन्न भएको बताउनुभयो । आयोजना आर्थिक वर्ष ०८०/८१ मा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ ।

यसको निम्ति आवश्यक बजेटको सुनिश्चितता हुनुपर्ने नेपाली सेनाको भनाई छ । कोभिड १९ को कारण आयोजनाको काम प्रभावित भएको तथा खोकना–बुङमति क्षेत्रको स्थानीय विवादले आयोजना प्रभावित भएकाले समाधानको लागि केन्द्रीय तहबाट पहल गरिनुपर्ने आयोजना प्रमुखले बताउनुभयो ।