
काठमाडौं, साउन १७ । नेकपा (माओवादी केन्द्र)ले साउन ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन दिएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै कमिटीहरुलाई साउन ३० गतेभित्र सबै वडा कमिटीको गठन गर्न र पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकमा आउने केन्द्रीय सदस्यहरुले प्रदेश कमिटीबाट अद्यावधिक विवरण लिएर आउन निर्देशन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक १० दिन पर धकेल्ने निर्णय पनि गरेको छ । यसअघि पार्टीको केन्द्रीय कमिटी बैठक साउन २० गतेदेखि बस्ने भनिएपनि आवश्यक तयारी गर्न अझै केही समय लाग्ने भएकाले केन्द्रीय कमिटी बैठक श्रावण ३० गतेदेखि बस्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
सरकार गठनका लागि माओवादीको तर्फबाट पठाउने मन्त्रिहरुको सम्बन्धमा निर्णय लिन माओवादीको स्थायी कमिटी बैठक सोमबार(भोली) ३ बजे पुनः बस्ने पनि उहाँले बताउनुभयो ।
बैठकले केही दिन अघि महाकाली नदिमा भारतिय एसएसबि नेपाली नागरिक तर्दातर्दैका तुइन खुस्काइदिएका कारण एकजना बेपत्ता भएको घटनाको तत्काल छानविन गरी दोषीउपर कारबाही गर्न र भारत सरकारसँग गम्भिर आपत्तिसहित आवश्यक कारबाही प्रक्रिया अगाडी बढाउन माग समेत गरेको छ ।
प्रवक्ता श्रेष्ठले लुम्बिनी प्रदेश सरकारले संविधान र लोकतान्त्रिक मूल्य, मान्यताकाविरुद्ध गतिविधि गरिरहेको भन्दै माओवादीले संवैधानिक ढंगबाट लोकतान्त्रिक मूल्य, मान्यता अनुरुपको नयाँ सरकार गठन गर्ने पहल गरिरहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्