
काठमाडौं, साउन १८ । यातायात व्यवस्था विभागले भदौ पहिलो सातादेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि ट्रायल खुलाउने तयारी गरेको छ ।
कोरोना महामारीको जोखिम कम हुँदै गए भदौको पहिलो सातादेखि ट्रायल खुलाउने तयारी गरिएको विभागले जनाएको छ ।
लाइसेन्सका लागि यातायात व्यवस्था विभागले लिखित तथा ट्रायल परीक्षाको नयाँ व्यवस्था यसअघि नै सार्वजनिक गरिसकेको छ । लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गत चैत १९ गते स्वीकृत भएको थियो ।
सो कार्यविधि निर्देशिका २०७८ जेठ १ गतेदेखि लागू भए पनि कोरोनाका कारण ट्रायल तथा लिखित परीक्षा हुन नसकेपछि कार्यान्वयनमा भने आउन सकेको छैन ।
निर्देशिकामा भएको व्यवस्थाअनुसार परीक्षार्थीले ट्रायलमा ७० अंक ल्याए लाइसेन्स प्राप्त गर्न सक्छन् । निर्देशिकाले परीक्षार्थीले आफ्नै सवारी प्रयोग गर्न सक्ने व्यवस्था समेत गरेको छ । यसअघि कार्यालयले तोकेका र उपलब्ध गराएका सवारी मात्रै प्रयोग गर्न पाउने व्यवस्था थियो ।
प्रतिक्रिया दिनुहोस्