
काठमाडौं, साउन १८ । मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाएको भन्दै लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले बहुमतिय सरकार गठनको आह्वान गर्न प्रदेश प्रमुख अमिक शेरचनसँग माग गरेका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्तरुपमा संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि निवेदन बुझाएका हुन् ।
संविधानको धारा १६८ (१) अनुसार मुख्यमन्त्री नियुक्त हुनु भएका पोखरेलले बहुमत गुमाएको भन्दै विपक्षी दलहरुले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतको सरकार गठनको बाटो खोलिदिन माग राखेका हुन् ।
निवेदनमा प्रदेशसभामा हाल कायम रहेका ८० सांसदमध्ये नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १८ जना (सभामुख बाहेक), जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४१ जनाको हस्ताक्षर छ ।
लुम्बिनी प्रदेश सभामा हाल कायम रहेका ८० जना प्रदेश सभा सदस्यमध्ये सत्तारुढ नेकपा एमालेसँग ३८ सांसदमात्र रहेका छन् । गत वैशाख ६ गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि विपक्षी दलले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।
तर पोखरेलले अविश्वास प्रस्तावमाथि छलफल हुनुअघि नै प्रदेशसभाको अधिवेशन अन्त्य गरेर एकल बहुमतको सरकार गठन गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्