
मिरा बस्नेत
काठमाडौं, साउन १८ । देशको कार्यकारी अधिकारप्राप्त प्रधानमन्त्री, मन्त्रीहरु, उच्च प्रशासकलगायत देशका ठूलाबडाले प्रयोग गर्ने चमेना गृहमा गुणस्तरीय खाने कुरा पाउनु पर्ने हो । करिब तीन करोड जनताको व्यवस्थापकीय जिम्मेवारी बोकेको मुलुकको प्रशासनिक मुख्यालय सिंहदरवारमा रहेका अधिकांश चमेनागृहमै गुणस्तरहीन खानेकुरा बेचिन्छ । जनताका लागि खाना, दाना र छानाको प्रबन्ध मिलाउने अभिभारा बोकेका नीति निर्माताहरु आफैं गुणस्तरहीन खानाको चपेटामा पर्नु लाजमर्दो विषय हो ।
ठूला मान्छेले के खान्छन ? भन्ने प्रश्नबाट उसले कस्तो काम गर्छ भन्ने मूल्यांकन हुन्छ । वर्षौंदेखि जनतालाई सपना देखाउने सिंहदरबारका शासक प्रशासकले खाने खान्की नै गुणस्तरहीन पाइएपछि कार्यक्षमतामा त्यसको असर परेको त हैन भन्ने प्रश्न जन्मिएको छ । ठूलाबडाको शारीरिक सुरक्षाजस्तै खाद्यसुरक्षाले पनि अहं भूमिका खेल्ने निश्चित छ । तर त्यस्तो संवेदनशील ठाउँमा चलाइएका चमेनागृहको गुणस्तरबारे सवै मौन छन् । २५ मन्त्रालयमध्ये २४ मन्त्रालय सिंहदरवार भित्रै छ । महान्यायाधिवक्ताको कार्यालय यहीँभित्रै सरेको छ । संसदको प्रयोजनका लागि विशाल भवन बनिरहेका छन् । यसो हुनु भनेको यहाँभित्रको घनत्व बढ्नु नै हो । यस बाहेक विभिन्न आयोग, संसदीय समिति, शाखा महाशाखा र सरकारी संचार माध्यमहरु पनि सिंहदरवार भित्रै छन् । हरेक मन्त्रालयको कुनाकुनामा सञ्चालित चमेना गृहहरुको अवस्था भने निकै नै दयनीय छ ।
खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागको तथ्याङक अनुसार सिंहदरवारभित्र सञ्चालनमा रहेका २८ वटा चमेना गृह मध्य अहिले १२ वटा मात्र संचालनमा छन् । विभागले समय समयमा सिंहदरवार भित्रका चमेना गृहहरुको अनुगमन समेत गर्ने गरेको दाबी गरेको छ । विशेष गरि कानुनी प्रक्रिया, भौतिक संरचना र प्रविधि यी तिन वटा आधारमा विभागले अनुगमन गर्ने गरेको छ । सिहंदरवार परिसर भित्र माण्दण्ड पूरा भएको भनिएको एउटामात्र चमेना गृहको अवस्था पनि सन्तोषजनक छैन । अनुगमनका क्रममा विभागले अर्थ मन्त्रालयको चमेना गृहबाट म्याद गुज्रेका खानेकुरा समेत बदारमद गरेको थियो । विभागले चमेना गृहको संचालनको लागि तालिम समेत दिन गरेको छ । तर पटक पटक सचेत गराउँदा पनि सिंहदरवार परिसरका चमेना गृहको अवस्था उस्तै रहेको विभगको दाबी छ ।
विभागले रातो, पँहेलो, हरिया र हरियोमा पनि ३ वटा स्टार राखेर चमेना गृहको स्तर वगीकरण गरेको छ । तर सिहंदरवार परिसरका कुनै पनि चमेना गृह हरियो कार्ड पाउने स्तरका छैनन् । परिसरका अधिकांश चमेनागृह अनाधिकृत रुपमा संचालनमा छन् । कोही कार्यालय सहयोगीका छन् भने कोही कर्मचारीका आफन्तका । चमेना गृह संचालनमा अस्वस्थ प्रतिषपर्धा हुँदा यसले गुणस्तरमा केन्द्रीत हुन सकेको छैन ।
चमेना गृह संचालन सम्बन्धी कार्यविधि नभएको पनि हैन । कार्यविधिमा चमेना गृह संचालन गर्दा कस्तो मापदण पुरा गर्नु पर्छ, भौतिक संरचना कस्तो हुनुपर्छ भन्ने उल्लेख गरिएको छ । तर सिंहदरवार परिसरका कुनै पनि चमेनागृहले कार्यविधि मानेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्