
काठमाडौं, साउन १८ । अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता किरण राईले पदबाट राजीनामा दिएका छन् ।
उनले एन्फाभित्र गलत नजीर स्थापित हुन लागेको भन्दै खबरदारी गर्न राजीनामा दिएको बताएका छन् । प्रवक्ताबाट राजिनामा दिएका राईले विभिन्न पक्षबाट भइरहेका गतिविधिहरु बन्द गर्न आग्रह गर्दै एन्फाको निर्वाचनको प्रक्रिया शुरु गर्नुपर्ने मध्यमार्गी प्रस्ताव पनि पेश गरेका छन् ।
केन्द्रीय सदस्य किरण राईले पत्रकार सम्मेलनमा नेपाली फुटबलमा देखिएका पछिल्ला गतिविधिहरु दुवै तर्फबाट बन्द गर्न आह्वान पनि गरेका छन् । प्रशिक्षक र उपाध्यक्ष बीचको समस्या समाधानका लागि खेलकुद मन्त्रालयलाई जिम्मेवारी दिने कामले गलत नजीर बसाउने पूर्व प्रवक्ता राईले बताए ।
अहिले नेतृत्वको टकराबका कारण फुटबलको हित नहुने भन्दै पूर्व राईले अहिले एकले अर्कालाई दोषारोपण गर्ने काम बन्द गर्न आग्रह गरेका छन् । प्रवक्ताबाट हटे पनि केन्द्रीय सदस्य भने रहिरहने राईको भनाइ छ ।
एन्फाको नयाँ नेतृत्व चयनका लागि आगामी बैशखमा निर्वाचन हुँदैछ । निर्वाचन नजिक आउँदै गर्दा अहिले एन्फामा अध्यक्ष कर्माछिरिङ पक्ष र वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङबीचको मतभेद चुलिँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्