
काठमाडौं, साउन १९ । पारस खड्का नेपाली क्रिकेटका अब्बल दर्जाका खेलाडी हुन् । मैदानमा जसरी उनको ब्याट र बल चल्थ्यो, उसैगरी नेपाली क्रिकेट व्यवस्थापनमा भएका बेथितिविरुद्ध निर्भिक रुपमा आवाज पनि । नेपाली क्रिकेटको भविष्य थाम्न १५ वर्षको किशोर वयमै मैदान छिरेका उनी १८ वर्ष अविछन्न खेल जीवनपछि सन्यास लिने कठोर निर्णयमा पुगे ।
सन्यास, कुनै पनि क्षेत्रमा लागेका व्यक्तिका लागि अनिवार्य छ नै । अझ खेल र सिनेमा जस्ता क्षेत्रमा लागेकाहरुका निम्ति भने निश्चित कालखण्ड पछि अनिवार्य नै हुने गर्दछ । भूमिका परिवर्तन गर्दै आफूलाई त्यही क्षेत्रको उन्नयनमा भने समर्पण गर्न सकिन्छ । सायद, मंगलबार एकाविहानै पारसले सन्यास घोषणा गर्दै गर्दा त्यही छनक भने देखाएका छन् ।
करिब दुई दशक उत्कृष्ट नेपाली क्रिकेट खेलाडीका रुपमा स्थापित उनले समयले देखाएको बाटोलाई शिरोपर गर्दै नयाँ भूमिकातर्फ आफूलाई समर्पित गर्ने संकेत गरेका छन् । ब्याट र बल लिँदा मैदानमा पारसले खेलेका इनिङहरु उत्कृष्ट भएकोमा कुनै संशय छैन । त्यसैले त, पारसलाई नेपाली क्रिकेटको एउटा युगको रुपमा विश्लेषण गर्नेहरु पनि छन् ।
हो, उत्कृष्ट खेलाडीका रुपमा पारसको एउटा युग पक्कै पनि सकिएको छ । तर नेपाली क्रिकेटको उन्नयनका लागि उनको भूमिका सकिएको हो र ? निःसन्देश होइन । जसरी ब्याट थमाएर खेलाडीका रुपमा पारसबाट नेपाली क्रिकेटले हालसम्मका उच्च उपलब्धिहरु हात लगायो । अब क्रिकेट व्यवस्थापनको लगाम उनी जस्ता काबिल खेलाडीलाई नै सुम्पिएर नेपाली क्रिकेटमा बाँकी उपलब्धि लिन सकिन्छ ।
एउटा खेलाडीलाई उमेर एक हदसम्म बाधक बनेर उभिन्छ र त्यो बिन्दूमा पुगेपछि संसारकै उत्कृष्टतम भनिएका खेलाडीहरु पनि खेल जगतबाट बिदा हुन बाध्य हुन्छन् । तर तिनले खेल मैदान र व्यावस्थापनका सिकेका सीप र कौशललाई भने ति खेलकै विकासमा लगाउन जान्दा थप विकास गरेको उदाहरण हाम्रै अगाडी प्रशस्त छन् ।
त्यही सम्भावना देखेरै पारसले आफ्नो सन्यास घोषणामा भनेका छन्, ‘क्रिकेटरको रुपमा मैले आफ्नो मन वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ । मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नती हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरुको संयुक्त प्रयासको आवश्यकता छ । इमान्दारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पु¥याउनेछौँ । अन्तर्राष्ट्रिय रुपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन् ।’
खेल जीवन सकाउँदै जारी गरेको सन्यास वक्तव्यमा पारसले प्रष्ट संकेत गरेका छन्, भावी दिन उनले नेपाली क्रिकेटको विकासमै लगाउने छन् । राजनीतिक हस्तक्षेपले रुग्ण बनेको नेपाली क्रिकेटलाई यतिबेला एउटा दर्बिलो साथ, आँट र सुधार चाहिएको छ । २२ वर्षे उमेरमा क्रिकेटरका रुपमा राष्ट्रिय टिमको लगाम समातेका उनले एक दशक उक्त भूमिकामा रहँदा मुलुकलाई प्रशस्तै उपलब्धि दिएका छन् । जीवनको अर्को पडावमा व्यवस्थापकका रुपमा पारसलाई मुलुकले जिम्मेवारी सुम्पियो भने पक्कै पनि गुनासो मात्रै होइन, समाधान पनि खेलाडी पृष्ठभूमिबाट आउनसक्ने सम्भावना देखिन्छ ।
उसोत, अबको दुई वर्षपछि क्रिकेट संघमा नयाँ नेतृत्व चयन गर्नुपर्ने हुन्छ । सन्यास घोषणा गर्दा पारसले उक्त सम्भावनालाई पनि सँगै राखेको देखिन्छ । खेलाडीबाट अवकाश लिएको दुई वर्षपछि मात्रै व्यवस्थापकको भूमिकामा जानसक्ने विधानको व्यवस्थालाई सन्यास समयले समेट्ने देखिन्छ ।
राम्रै फर्ममा रहेका ३३ वर्षे पारसले अरु ४–५ वर्ष खेल्न सक्ने सम्भावनालाई उसैगरी अन्त्य गरेको घोषणा गरे, जसरी क्रिकेट कप्तानी त्याग्दा गरेका थिए । चोटका कारण गत अप्रिलमा घरेलु मैदानमा भएको नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीचको थ्रि नेसन्स कप गुमाएका पारसको अन्तिम अन्तर्राष्ट्रिय खेल भने गत वर्ष मार्चमा एसीसी इष्टर्न रिजन अन्तर्गत थाइल्यान्डविरुद्ध रह्यो ।
पछिल्लो डेढ दशक नेपाली क्रिकेटको पर्यायका रूपमा रहेका पारसलाई नेपाललाई डिभिजन ५ देखि एक दिवसीय मान्यताप्राप्त राष्ट्रमा उकाल्ने सबैभन्दा ठूलो श्रेय जान्छ । नेपालले पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेल्दा नेतृत्व गरेका पारसका नाममा अनेकन राष्ट्रिय कीर्तिमान छन् । एकदिवसीय र टी–२० क्रिकेटमा सर्वाधिक रन उनैले बनाएका छन् ।
सन् २००४ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका पारसले त्यसको पाँच वर्षपछि सन् २००९ मा विनोद दासको स्थान लिँदै नेपाली क्रिकेटको कप्तानी कमान सम्हालेका थिए । सन् २००० को दशकदेखि उनीसँगै खेल्ने खेलाडीमा अब कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी र विनोद भण्डारी मात्र छन् । यी खेलाडीपछि नेपाली क्रिकेट अब नयाँ पुस्ताको काँधमा पुग्नेछ ।
२००२ देखि सुरु गरेको क्रिकेट यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै पारसले भनेका छन्, ‘२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा पछिल्लो १८ वर्ष साथ, समर्थन माया र हौसला दिने प्रशिक्षकहरु, साथी, खेलाडीहरु, प्रशंसकहरु, सरोकारवालाहरु, मिडियाकर्मीहरू, मेरो परिवार र साथीहरुप्रति म सदैव ऋणी रहनेछु ।’
यद्यपि, नेपाली जर्सीमा नेपाली टोलीलाई टेष्ट खेलाउने र आफू पनि खेल्ने उनको धोको भने अधुरै रह्यो । उनले मैदानबाट पूरा गर्न नसकेको धोको क्रिकेटकै अर्को जिम्मेवारीबाट मुलुक दिलाउन भने सक्नेछन् । त्यसका लागि सम्पूर्ण क्रिकेटप्रेमी, नीति निर्माताको साथ र सहयोग भने जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्