२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


दार्चुला घटनाबारे संसदमा गृहमन्त्रीलाई सांसदको प्रश्नः भारतसमक्ष औपचारिक विरोध जनाउन र संसदीय समिति बनाउन एमालेको माग


0
Shares

samsad baithak

काठमाडौं, साउन १९ । प्रतिनिधि सभाको बैठकमा सांसदहरुले महाकाली नदीमा तुइन चढ्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा स्थानीय जयसिंह धामी नदीमा वेपत्ता भएको विषयमा जवाफ मागेका छन् ।

मंगलबारको बैठकमा बोल्ने सबै दलका सांसदहरुले गृहमन्त्री बालकृष्ण खाँडसँग घटनाको सत्य तथ्य के हो जस्ताको तस्तै सार्वजनिक गर्न माग गरे । सरकारले भारतसमक्ष आफ्ना नागरिकमाथि गरिएको अमानवीय घटनाको विरोधसमेत गर्न नसकेको भन्दै आपत्ति जनाए ।

उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग वार्ता गरेर घटनाबारे प्रष्टीकरण लिनुपर्ने बताए । उनीहरुले घटनाको सत्य तथ्य छानबीनका लागि संसदीय समिति बनाउन पनि माग गरे ।

कर्मचारी तहको समिति गठन गरेर समस्याको समाधान नहुने भन्दै सत्ता र विपक्ष दुबैतर्फका सांसदहरुले कूटनीतिक र राजनीतिक वार्तामार्फत् समाधान खोज्न सुझाव पनि दिएका छन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काट्दा नेपाली नागरिक महाकाली नदीमा खसेको भन्दै भारतसमक्ष औपचारिक रुपमा विरोध जनाउन माग गरेका छन् ।

बैठक शुरु हुनासाथ विशेष समय लिएर बोल्दै एमाले सांसद गणेश सिंह ठगुन्नाले एसएसबीका जवानले तार काट्दा जयसिंह धामी नदीमा खसेको दावी गर्दै भन्नुभयो, ‘त्यहाँ उपस्थित मानिसहरुले तार नकाटिदिन हारगुहार गर्दा पनि तार निकाल्दा दुःखद र अमानवीय घटना घट्न पुगेको छ ।’

प्रत्यक्षदर्शीको बयान र जयसिंह धामीको परिवारले किटानी जाहेरी दिँदा पनि सरकारले भारतीय राजदूतलाई बोलाएर औपचारिक विरोध नजाएकामा आपत्ति जनाउँदै ठगुन्नाले भन्नुभयो, ‘भारतीय राजदूतलाई बोलाएर विरोध जनाउन, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिनको नाटक गरेर घटना साम्य पार्ने प्रयास गरिरहेको छ ।’

सांसद ठगुन्नाले गृह मन्त्रालय र स्थानीय प्रशासनको वक्तव्य हेर्दा सरकार गम्भीर नदेखिएको भन्दै भारतसँग औपचारिक विरोध जनाउन, मृतकका परिवारलाई क्षतिपूर्ति दिन र दोषी एसएसबीलाई कारबाही गर्न माग गर्नुभयो ।