७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


कोभिड युनिफाइड अस्पतालको प्रमुखमा डा. भूपेन्द्र वस्नेत, गौतमलाई प्रसूतीमा पठाइयो, अरु तीनको सरुवा रोक्का


0
Shares

Dr Bhupendra Basnet

काठमाडौं, साउन १९ । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदमा डा. भूपेन्द्र बस्नेतलाई नियुक्त गर्दै डा. जागेश्वर गौतमलाई प्रसूती तथा स्त्रीरोग अस्पतालमा सरुवा गरेको छ ।

मंगलबार प्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री शेरबहादुर देउवाले डा. बस्नेतलाई वीरको जिम्मेवारी दिँदै यसअघि राज्यमन्त्री उमेश श्रेष्ठले गरेको सरुवा रद्द गर्नुभएको हो ।

सोमबार राज्यमन्त्री श्रेष्ठले कोभिड युनिफाइड अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. गौतमलाई हटाउँदै ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई उक्त जिम्मेवारी दिने निर्णय गर्नुभएको थियो ।

तर, प्रधानमन्त्रीले उक्त निर्णय कार्यान्वयन रोक्न मन्त्रालयलाई निर्देशन दिँदै यसअघि वीर अस्पतालको निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएका वस्नेतलाई कोभिड अस्पतालको प्रमुख बनाउने निर्णय गर्नुभएको हो ।

नयाँ जिम्मेवारी पाउनुभएका डा. वस्नेतले कोरोना महामारीलाई प्रमुख प्राथमिकतामा राखी काम गर्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री देउवाको यो निर्णयसँगै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सोमबार गरेको डा. गौतमलाई प्रसूती अस्पताल पठाउनेबाहेकका सबै निर्णय रद्द गरिएको छ ।

राज्यमन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाका डा विवेकलाल कर्ण, क्षयरोग केन्द्रको प्रमुखमा रीता जोशी तथा डा. मरासिनीलाई कोभिड अस्पतालको प्रमुखको जिम्मेवारी दिनुभएको थियो ।