६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सुर्खेतमा ‘तपाईको मास्क खोई’ अभियान


0
Shares

मानबहादुर वली
सुर्खेत, साउन १९ । सुर्खेतमा कोरोना संक्रमितको संख्या वृद्धि भइहेको भन्दै जनचेतना जगाउन मास्क अभियान थालिएको छ । तपाईको मास्क खोई भन्दै सडकमा हिडिरहेका सर्वसाधरणलाई जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मास्क अभियान थालिएको हो ।

वीरेन्द्रनगरको मंगलगढी चोकमा प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्ट लगायत प्रहरी, सशस्त्र प्रहरी, सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको टोलीले हातमा मास्क लिएर बिहान ८ बजे सडकमा माक्स विहीन मानिसलाई तपाइको माक्स खोइ भन्दै माक्स लगाउन आग्रह गरेको छ ।

कोरोना (कोभिड १९) विरुद्ध जनचेतना जगाउने तथा स्वास्थ्य मापदण्ड पालना गराउने उद्देश्यले गरिएको अभियानले बजारमा सर्वसाधारणलाइ मास्क लगाउन प्रोत्साहित गरेका हुन् । मास्क नलगाई हिडने व्यक्तिलाई मास्क लगाएर हिड्न अनुरोधसहित मास्क वितरण गरिएको हो । जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने तथा मास्क नलगाई हिडने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम जरिवाना गरिने व्यहोरा जानकारीसहित सर्वसाधारणमा जनचेतना जगाउन कार्यक्रम गरिएको प्रजिअ रिजालले बताउनुभयो ।

अभियानमा कोभिड महामारीबाट आफू बचौ र अरुलाई पनि बचाउँ, तपाइको माक्स खोइ, माक्स लगाउनु भएकोमा धन्यवाद जस्ता प्ले कार्ड वोकिएको थियो । बजारमा प्रहरी प्रशासन सहितका टोलीले मास्क बाँडेपछि सर्वसाधारण भने आश्चार्यमा परेका थिए । टोलीले मंगलगढीचोक, वीरेन्द्रचोक, गणेशचोक, एरिचोक लगायतका स्थानमा तपाइको मास्क खोइ भन्दै मास्क नलगाउनेलाइ मास्क दिएर कोरोना विरुद्धको सचेतना फैलाएको थियो । सर्वसाधरणमा अत्यधिक लापरवाही देखिएकाले आक्रामक रुपमा अभियानमा लागिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक पदमबहादुर विष्टले बताउनुभयो ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतमा जनस्वास्थ्यमा मापदण्डमा चरम लापरवाही गर्दा कोभिड १९ को संक्रमणको दर पुनः उकालो लाग्दो छ । प्रशासनहरुले कोरोना नियन्त्रण तथा रोकथामका लागि भन्दै गरेको निषेधाज्ञा खुकुलो बनाएसँग शहर बजारहरुमा मान्छेको आवत–जावत बाक्लिँदै गएको छ भने जनस्वास्थ्यका मापदण्डको पालन भएको देखिँदैन ।