
काठमाडौं, साउन १९ । नेपालमा प्राचिनकालदेखि परम्परागत रुपको दाँतको उपचार हुँदै आएको । त्यस समय उपचारको केन्द्र थियो । काठमाडौंको थाय्मरु अर्थात बाँङ्गेमुढा, त्यहा रहेको वास्या द्यः (दाँतको समस्या उपचारको देवता)मा दन्त समस्या भएकाहरु सिक्कालाई काठमा किलाले ठोकेर दाँतको समस्या निको पार्थे । हेर्दा अन्धविश्वास जस्तो लागे पनि केही हदसम्म मनोवैज्ञानिक उपचार पद्धति पनि हो जुन अहिले जीवित साँस्कृतिक सम्पदाको रुपमा रहेको छ ।
यो हो नःघ टोलस्थित करिब १ सय १३ वर्ष पुरानो दन्त उपचार केन्द्र । अष्टमान राजभण्डारी र पुष्पमान राजभण्डारीले भारतबाट डेन्टल सर्जन बनेर विंस १९६५ सालमा ‘दाँत बनाउने दुकान’ नाम राखेर आधुनिक उपचार शुरु गरेका थिए । जुन नेपाल मण्डलमा पहिलो आधुनिक दाँतका क्लिनिक हुन पुग्यो । अहिले राजभण्डारीको तेस्रो पुस्ताले समेत सोही घरबाट दन्त सेवा दिँदै आएको छ । धिरजमान राजभण्डारी आफनो पुर्खाले यो सेवा शुरु गरेको र हालसम्म पनि आधुनिक दन्त चिकित्सा पद्धतिअनुसार सेवा दिइरहेको बताउनु हुन्छ ।
नःघ टोलमा अहिले धेरै दन्त क्लिनिकहरु खुलिसकेका छन् । अभियन्ता आलोकसिद्धि तुलाधर थाय्मरुमा रहेको वास्याद्यः दाँतको समस्या समाधान गर्ने देवता रहेको कारण यहाँ दन्त सेवा केन्द्रहरु खुलेको बताउनुहुन्छ ।
सिक्कालाई काठमा किलाले ठोकेर देवतलाई पूजा गर्दा दाँतको समस्या समाधान हुने विश्वास गरिन्छ । राजभण्डारीका अनुसार यो परम्परालाई आधुनिक चिकित्सा विज्ञानले नमाने पनि यो मनोविज्ञानसँग सम्बन्ध रहेको छ ।
देवता रहेको ठाउँमा ऐतिहासिक काठ चोरी भएपछि हाल सुरक्षाको लागि भन्दै पुरा छोपिएको छ । जसले गर्दा आस्थावान व्यक्तिहरुले पूजा र दर्शन गर्न पाएका छैनन् । तर पनि विश्वासकै कारण सँगैरहेको काठमा सिक्का ठोकेर आफनो आस्था प्रकट गरिरहेका छन् । यो विदेशी पर्यटकहरुको चासो, जिज्ञासा र अनुसन्धानको विषय पनि हो ।
तुलाधरका अनुसार यो काठको मुढा मात्र होइन एक जीवित सम्पदालाई पनि हो । सुरक्षाको नाममा यसरी छोप्नु उचित नहुने उहाँको तर्क छ ।
यो हाम्रो जीवन पद्धति हो त्यसैले यसको पुरातात्विक र ऐतिहासिक महत्वलाई बचाउन आधुनिक तरीकाले सुरक्षा दिएर खुल्ला गर्नु पर्छ । दाँतसँग सम्बन्ध रहेतापनि यसले हाम्रो साँस्कृतिक विरासत बोकेको छ । दन्त सेवालाई समेत मर्यादित र अनुशासित बनाइ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्