
काठमाडौं, साउन १९ । अर्थमन्त्री जनार्दन शर्माले सकारी बैंकका चेक क्लीयरिङ्ग नहुने समस्या अन्त्य हुने घोषणा गर्नुभएको छ ।
राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा उहाँले सहकारी बैंकको पनि चेक क्लीयरिङको व्यवस्था गर्ने बताउनुभएको हो । चेक नचल्ने नियम खारेज गर्छु भन्दै उहाँले सामाजिक सुरक्षा भत्ता पनि सहकारी बंैक तथा गाँउ गाँउमा रहेका लघु वित्त कम्पनीमार्फत भुक्तानी गर्ने व्यवस्थाका लागि छलफल चलाइरहेको बताउनुभयो ।
सहकारी बैंकहरुले पनि नाफाको लागि प्रतिष्पर्धा नगरी उत्पादन र रोजगारी सृजनामा प्रतिष्पर्धा गर्न पनि उहाँले सुझाउनुभयो ।
उहाँले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकका साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने बताउनुभयो । उत्पादनमुखी अर्थतन्त्रमा टेवा पु¥याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनुपर्ने भन्दै अर्थमन्त्री शर्माले त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरी मन्त्री शर्माले ऋण प्रवाहमा रहेको असमानता समेत हटाउन पहल गरिने बताउनुभयो । गाडी किन्ने कर्जा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउन आवश्यक रहेको पनि मन्त्री शर्माले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्