
काठमाडौं, साउन २० । २०७४ सालमा आफूहरुलाई करार गर्ने भनी गरेको तत्कालिन मन्त्रिपरिषद्ले गरेको निर्णय कार्यान्वयनको माग राख्दै त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरुले प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई बुधबार ज्ञापन पत्र बुझाएका छन् ।
१ हजार ४ सय २० आंशिक प्राध्यापकलाई करार निर्णय देउवाकै पालामा भएकाले यसले प्रधानमन्त्रीमाथि नैतिक दवाव सिर्जना गरेको छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले आंशिक प्राध्यापकका माग छिट्टै सम्बोधन गर्ने आश्वासन दिनुभयो ।
आंशिक प्राध्यापकले विगत १५ बर्षदेखि भोग्दै आएको समस्या, बौद्धिक शोषण, श्रम शोषण लगायतका समस्याहरुको बारेमा आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो । साथै २०७४ यता थप भएका ५ सय ८० गरी कुल २ हजारको संख्यामा रहेका आंशिक प्राध्यापकलाई तत्काल करार गर्न समितिले माग गरेको छ ।
आफ्ना माग सम्बोधनका लागि दबाब दिन त्रिवि सेवा आयोग, कुलपति, शिक्षाध्यक्ष र रेक्टरको कार्यालयमा ९ दिनसम्म तालाबन्दी गरेका आंशिक प्राध्यापकहरुले त्रिवि पदाधिकारीसँगको सहमतिपछि सोमबार आन्दोलन रोकेका थिए ।
सेवा आयोगले अघि बढाएको परीक्षा प्रक्रिया स्थगन गर्ने, २ हजार करार दरबन्दी विश्वविद्यालयको कार्यकारी परिषद्ले ४ दिन भित्र निर्णय गर्ने लगायतका मौखिक सहमति भएपछि ताला खोलिएको थियो ।
प्रतिक्रिया दिनुहोस्