२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


निर्वाचन समितिलाई दुई दिनभित्र कार्यतालिका र निर्देशिकासहित क्रियाशील सदस्यता दिन नेतृत्वलाई पौडेल पक्षको अल्टिमेटम


0
Shares

congress poudel group

काठमाडौं, साउन २१ । पार्टीको निर्वाचन समितिलाई दुई दिनभित्र कार्यतालिका र निर्देशिकासहित क्रियाशील सदस्यता दिन सभापति शेरबहादुर देउवालाई नेपाली कांग्रेस रामचन्द्र पौडेल समूहले अल्टिमेटम दिएको छ ।

बिहीबार पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सिबारीमा बसेको बैठकले १४ औं महाधिवेशनको कुनै विकल्प नभएको निष्कर्ष निकाल्दै संवैधानिक, कानूनी, राजनीतिक र नैतिक रूपमा महाधिवेशन पछि धकेल्ने ठाउँ सकिएको निर्णय गरेको हो ।

समयमा महाधिवेशन नगरिए पार्टीमा अरु विकल्प खोज्ने चेतावनी दिँदै नेता पौडेलले भन्नुभयो, ‘महाधिवेशनको कार्यतालिका दुई दिनभित्र आउनुप¥यो, क्रियाशील सदस्यता र निर्देशिकासहित पार्टी नेतृत्वले दुई दिनभित्र निर्वाचन समितिलाई दिनुपर्‍यो ।’

स्थानीय र प्रदेश समितिको अधिवेशन गराउन सकिने भन्दै उहाँले भन्नुभयो, ‘हामीले यदि निर्देशिका र क्रियाशील सदस्यता दियौँ भने निर्वाचन समितिले केन्द्रीय समिति र प्रदेश समितिका लागि आवश्यक तहका निर्वाचन गराउन सक्छ ।’

सभापतिले समयमा विचार नपु¥याए पार्टी अवैधानिक बाटोमा जाने र त्यस्तो अवस्थाबाट जोगाउन अस्थायी व्यवस्थाका लागि विशेष महाधिवेशन गर्नुपर्ने विषयमा पनि नेताहरुबीच छलफल भएको छ ।

विशेष महाधिवेशन महाधिवेशनको विकल्पका रुपमा नभई भदौ २३ गतेभित्र नयाँ नेतृत्व चयन नभए वर्तमान कार्यसमितिको वैधानिकता समाप्त हुने र केन्द्रीय समितिले काम गर्न नसक्ने भएकाले उठाइएको पौडेलको भनाइ छ ।