
काठमाडौं, साउन २१ । सरकारले अबको पाँच महिनाभित्र एक लाख ९३ हजार ८ सय ५६ जना कोभिड संक्रमित थपिने प्रक्षेपण प्रतिवेदन संसदीय समितिमा प्रस्तुत गरेको छ ।
बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले यस्तो आकडा प्रस्तुत गर्नु भएको हो ।
साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्र्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ संक्रमित थपिने मन्त्रालयको अनुमान छ । संक्रमित हुनेमध्ये ८० प्रतिशत सामान्य, १५ प्रतिशत जटिल, ५ प्रतिशत गम्भीर हुनसक्ने र ९ हजार ६ सय ९३ जनालाई सघन उपचार (आईसीयू) सेवा आवश्यक पर्नसक्ने प्रक्षेपण गरिएको छ । डा. पौडेलले अबको पाँच महिनामा ३८ हजार ७ सय ७१ जनालाई अस्पताबाट उपचार सेवा आवश्यक पर्ने जानकारी पनि दिनुभयो ।
यसैबीच समितिले कोभिड १९ विरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न र कोरोनाको तेस्रो लहर आउन सक्ने भएकाले पर्याप्त आईसियू, अक्सिजन, भेन्टिलेटर र जनशक्ति थप गर्ने भनेको छ ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा १ करोड ५ लाख खोप उपलब्ध हुने बताउनुभयो । साउन २५ गतेदेखि ३२ गतेसम्म खोप सप्ताह मनाइने जानकारी पनि उहाँले दिनुभयो ।
सांसदहरु खगराज अधिकारी, गिरिराजमणि पोखरेललगायतले कोभिड १९ व्यवस्थापनमा सरकार नचुकोस् भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्