
काठमाडौं, साउन २१ । विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीवार सिंहदरवारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले पुनर्निर्माण हुन बाँकी रहेका कार्यहरु निर्धारित समयभित्रै सम्पन्न गर्न र बजेटको कार्य अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र अर्थमन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले २०७२ सालको महाभूकम्पबाट क्षति भएका राष्ट्रिय सम्पदा तथा पूर्वाधारहरु पुनर्निर्माण गर्ने जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पुनर्निर्माणमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै धन्यवाद दिएको छ ।
समितिको निर्देशन सुनाउँदै समितिका सचिव ओमबहादुर कार्कीले पुनर्निर्माण गरिएका संरचनाहरुको संरक्षण दीगोपना, उपभोग, एवं मर्मत सम्भारको श्रोत सुनिश्तिताको आवश्यक व्यवस्था मिलाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई समितिले निर्देशन दिएको बताउनुभयो ।
त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले १ हजार १ सय ९७ वटा स्वास्थ्य संस्था मध्ये ३३ वटा स्वास्थ्य संस्था जग्गा लगायतका कारणले बन्न नसकेको तर ७५१ वटा स्वास्थ्य संस्था पुनर्निर्माण भइसकेको बताउनुभयो ।
यस्तै सरकारी एवं सुरक्षा निकायका भवनहरुमा ४१५ वटा निर्माण गर्नुपर्नेमा ३८८ वटाको काम सकिएको उहाँले बताउनुभयो । पुरातात्विक एवं सांस्कृतिक सम्पदा तथा परम्परागत बस्ती अन्तर्गत् १२ सय ९७ वटा पुनर्निर्माण गर्नुपर्नेमा भने जम्मा ३७३ वटा निर्माण सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।
खानेपानी संरचनाको पुनर्निर्माण ४२ वटामा २२ वटा सकिसकिएको छ । त्यस्तै शिक्षण संस्थाहरुतर्फ ७ हजार ५५३ वटा पुनर्निर्माणमध्ये ६ हजार ६४७ वटा सकिएको पनि ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले बजेटका कारण केही कामहरु ढिला भइरहेको समेत उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्