
काठमाडौं, साउन २२ । पूर्व अर्थमन्त्रीहरुले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रीत हुने गरी मौैद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैैंकलाई सुझाव दिएका छन ।
प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको शुक्रबारको बैठकमा पूर्व अर्थमन्त्रीहरु डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र वर्षमान पुनले निर्यातमूलक उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउन सरकारसँग आग्रह गर्नु भएको हो ।
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहनु भएका भट्टराईले ग्रामीण क्षेत्रमा लगानीको वातावरण हुने गरी लगानी केन्द्रित नहुँदा बैंक मोटाउने तर देश र जनता गरिब हुँदै जाने अवस्था आएको उल्लेख गर्दै त्यसको अन्त्य हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने आवश्यक्ता औंल्याउनु भयो ।
खाली घरजग्गा किनबेचमा मात्रै कर्जा प्रवाह हुने, बेरोजगार युवाहरु विदेश पलायन हुने अवस्था आएको भन्दै यसको अन्त्य गर्नका लागि ग्रामिण क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने उहाँको भनाइ छ ।
यस्तै, अर्का पूर्व अर्थमन्त्री पाण्डेले निर्यातमूलक र उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सृजना हुने क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौद्रिक नीति ल्याउनुपर्ने स्पष्ट पार्नु भयो । उहाँले अनुचित खर्च खटौति गर्न, घर र सवारीमा गरिएको कर्जा प्रवाह कम गर्दै लैजाने गरी मौद्रिक नीति ल्याउन पनि राष्ट्र बैंकको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।
यस्तै, पूर्व अर्थमन्त्री पुनले उद्यमशीलताको क्षेत्रमा लगानी केन्द्रित हुने गरी मौदिक नीति ल्याउनुपर्ने स्पष्ट पार्नु भयो । उहाँले शैक्षिक प्रमाणपत्रको आधारमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई सहजीकरण गरेर मुलुकलाई आर्थिक रुपले सवल बनाउने गरी अघि बढन नेपाल राष्ट्र बैैंकलाई आग्रह गर्नु भयो ।
बैठकमा समिति सदस्यहरुले बैंकहरु मोटाउने तथा जनता र देश गरिव हुने खालको बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुने गरी नीतिगत र संरचनागत व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन । उनीहरुले ग्रामिण क्षेत्रमा लगानीको वातावरण बनाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने पनि जोड दिएका छन ।
प्रतिक्रिया दिनुहोस्