२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस


0
Shares

काठमाडौं, साउन २२ । आगामी साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफरिस गरेको छ ।

कोरोना संक्रमण बढिरहेकाले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई यस्तो सिफारिश गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले टवीटमार्फत जानकारी दिनु भएको छ ।

मन्त्रालयको सिफारिसपछि यही साउन ३१ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा के गर्ने भनेर निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक शनिबार बस्ने भएको छ । बोर्डले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिडविरुद्धको खोल लगाउन आग्रह गर्दै स्वाथ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएको थियो ।

मन्त्रालयले कोरोना खोप उपलब्ध गर्ने विषयमा सिसिएमसीसंग परामर्श गरेको थियो । तर सीसीएमसीले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने आशयको पत्र पठाएपछि बोर्ड पनि परीक्षाको नयाँ मिति तोक्ने दिशामा अगाडि बढेको बोर्ड सम्बद्ध एक अधिकृतले इमेज समाचारलाई जानकारी दिनुभयो ।

पाँच दिन अघि स्वाथ्य राज्यमन्त्री श्रेष्ठले कोरोना संक्रमितको संख्या बढ्न थालेकोले सबै खाले परीक्षा रोकी आन्तरिक मुल्याकंनको आधारमा कक्षोन्नति गर्न प्रस्ताव गर्नु भएको थियो । तर, शिक्षा मन्त्रालयलगायत अन्य परीक्षा सम्बद्ध निकायहरुले यो प्रस्तावबारे औपचारिक प्रतिक्रिया जनाएका छैनन ।