
काठमाडौं, साउन २४ । सत्तारुढ दलकाे कार्यदलले बनाएकाे सरकारकाे न्यूनतम साझा कार्यक्रम अपराह्न ४ बजे सार्वजनिक गरिने भएको छ ।
शुरुमा स्थानीय निकायलाई प्रदेशमातहत लैजाने कार्यक्रम राखेको सत्तारूढ गठबन्धनको कार्यदलले अन्तिम रुप दिएको न्यूनतम साझा कार्यक्रममा भने उक्त विषय हटाइएको छ ।
स्थानीय तहलाई प्रदेश मातहत राख्न प्रक्रिया थाल्ने विषय कार्यक्रममा परेपछि सर्वत्र आलोचना भएको थियो ।
आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालगायत सत्तारूढ दलका शीर्ष नेताहरू, मन्त्रीहरू र कार्यदलका संयोजक सहभागी भएको बैठकले प्रतिवेदनलाई अन्तिम रूप दिएको हो ।
कार्यदलका सदस्यसचिव केशवराजका अनुसार प्रतिवेदन अपराह्न ४ बजे सार्वजनिक गरिन लागेको हो । यद्यपि, कार्यदलले गत शुक्रबार नै प्रधानमन्त्री देउवालगायत शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो ।
कोभिड–१९ को महामारीबाट जनतालाई जोगाउने विषय प्राथमिकता दिइएको कार्यक्रममा राष्ट्रियहितको सम्वद्र्धन, संघीयताको कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, शान्ति–सुरक्षाको प्रत्याभूति, सुशासन र सदाचार, शान्ति प्रक्रियाको पूर्णता, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, तत्कालिक राहत पुनर्निमाण तथा पुनःस्थापना, पर्यावरणीय सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्धलगायत विषय राखिएको छ ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वमा बनेको सात सदस्यीय कार्यदलले मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा पनि जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस्