
कञ्चनपुर, साउन २४ । दार्चुलामा तुइनबाट तर्ने क्रममा बगेर बेपत्ता भएका जयसिंह धामीको न्यायका लागि कञ्चनपुरमा हस्ताक्षर संकलन अभियान संचालन गरिएको छ ।
गत साउन १५ गते महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबिले तुइन काटिदिएसंगै नदीमा डुबेर बेपत्ता भएका धामीको न्यायका लागि मौलिक जरोकिलो पार्टीका युवाहरुले ९ बुँदे मागसहित हस्ताक्षर अभियान संचालन गरेका हुन् ।
उनीहरुले घटनाको स्वतन्त्र र निष्पक्ष छानविन हुनुपर्ने, छानविनमा प्रत्यक्षदर्शी स्थानीय र संचार माध्यमका आवाजलाई पनि समेटिनुपर्ने माग राखेका छन् । यस्तै, पीडित परिवालाई न्यायका लागि उचित राहतको व्यवस्था, घटनाका दोषिलाई कारवाहीका लागि कुटनीतिक पहल गरिनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
यसैगरी, निर्माण गर्न लागिएको झोलुंगे पुल निर्माण कार्य अलपत्र छाड्ने ठेकेदारलाई कारवाही र अबिलम्ब झोलुंगे पुल निर्माण थाल्नु पर्ने माग पनि उनीहरुले राखेका छन् ।
आफूहरुले जयसिंहको न्यायका लागि ९ हजार जनाको हस्ताक्षर संकलन गरी ध्यानाकर्षण गर्न प्रधानमन्त्रीलाई बुझाउने जरोकिलो पार्टीका प्रदेश संयोजक खिमानन्द जोशीले बताउनुभयो ।
हालसम्म पाँच सय बढी हस्ताक्षर संकलन गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्