
चितवन, साउन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पात्र फेरिएर नभई प्रणालीनै परिवर्तन भए मात्रै देशको विकास हुने बताउनु भएको छ ।
भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष थापाले २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि अवलम्वन गरिएका अवधारणाहरु गलत भएको भन्दै यसले देशमा शान्ति, स्थायीत्व र समृद्धि हासिल हुन नसक्ने पछिल्ला घटनाहरुले प्रमाणित गरेको दावी गर्नुभयो ।
दुई तिहाइको सरकारसमेत टिक्न नसकेर देशमा अस्थिर राजनीति सुरु भएको भन्दै अव चाँडै गणतन्त्र, संघीयता र धर्म निरपेक्षताका विषयमा पुनर्विचार गर्नुपर्ने बताउनुभयो । साथै नेपाली नागरिक जयसिँह धामीको घटनामा सरकारले भारतसँग कुनै विरोध जनाउन नसकेकोप्रति पनि उहाँले सरकारको आलोचना गर्नुभयो ।
धामीको परिवारलाई उचित क्षतिपुर्ति सहित घटनामा संलग्न भारतीय एसएसवीलाई कडा कारवाहीको दायरामा ल्याउन दबाव आवश्यक रहेको थापाले उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्