२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


रुँदै रुँदै मेस्सीले भने–‘म बार्सिलोना छाड्न तयार थिइँन’


0
Shares

एजेन्सी, साउन २४ । विश्व फुटबलका लेजेन्ड लियोनल मेसीले आफूले बार्सिलोना छोड्न नचाहे पनि बाध्य भएको प्रतिक्रिया दिएका छन् ।

क्लबबाट बिदा हुने निश्चित भएपछि आइतबार पत्रकार सम्मेलन गर्दै क्लबका पूर्वकप्तान मेसीले भावुक हुँदै भने–‘यो एकदमै कठिन छ, म यो परिस्थितिका लागि तयार थिइँन । गत वर्ष म क्लब छोड्नका लागि तयार थिएँ । तर, यो वर्ष मेरो परिवार र म बार्सिलोनामै आफ्नो बसाइ लम्ब्याउने योजनामा थियौं ।’

बार्साबाट यसरी बिदाई हुनुपर्ला भन्ने नसोचेको भन्दै मेसीले रुँदै रुँदै भने, ‘आज मैले ‘गुड–बाई’ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ । २१ वर्षपछि आज मेरी श्रीमती र छोराछोरीसँग बिदा हुँदैछु ।’

क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नुपर्ने अवस्थामा पुगेका मेसीले आफू कहाँ जाने निश्चित भइनसकेको पनि बताए ।

अर्जेन्टिनी कप्तान एवं ६ पटकका बालोन डी’ओर विजेता मेसीले भने, ‘अहिलेसम्म मैले कसैसँग कुनै पनि सम्झौता गरेको छैन’ उनले भने, ‘यो एक वर्ष कठिन रह्यो । आधा वर्ष समर्थक बिना रह्यो । म राम्रोसँग बिदाई भन्न चाहन्छु ।’

यसअघि शुक्रबार मात्र बार्सिलोनाले आर्थिक र संरचनागत कारण मेसीलाई क्लबमा राख्न नसकिने भएको जनाएको थियो । यद्यपि, यसअघि बार्सिलोना र मेसीबीच आधा रकम घटाएर पाँच वर्षका लागि नयाँ सम्झौता हुने खबर आएको थियो ।

सन् २००० देखि बार्सिलोनामा आबद्ध मेसीले सन् २०१७ मा २०२१ सम्म चार वर्षका लागि सम्झौता गरेका थिए । बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका मोसीले ३५ उपाधि जितेका छन् । जसमा १० ला लिगा र चार च्याम्पियन्स लिग छन् । ला लिगामा सर्वाधिक ४७४ गोलकर्ता खेलाडी पनि उनै हुन् ।