
गृष्मा राजभण्डारी
काठमाडौं, साउन २४ । राजपरिवारको वंश विनासपछि संग्रहालयमा अनुवाद भएको नारायणहिटी दरबारको २७ वर्षपछि रंगरोगन र मर्मतसम्भार भएको छ । अधिराजकुमारी श्रुति शाहको विवाहयता दरबारको कुनै मर्मत सम्भार भएको थिएन । मुलुकमा गणतान्त्रिक व्यवस्थापछि बनेका कुनै पनि सरकारले संग्रहालय बनाउने औपचारिक घोषणाबाहेक त्यसको साख र गरिमा बचाउनेतर्फ इमान्दार प्रयास गरेको देखिदैन् ।
नारायणहिटी दरबारको मुल ढोकामा रहेको आकृतिबाट शुरु भएको रंगरोगन गोरखा दरबार सम्म पुगेको छ । पुर्व अधिराजकुमारी श्रुतीको बिबाह समारोहमा गरिएको रंगरोगन खुइलिएपछि बल्ल यसले फेरिने मौका पाएको हो । राजाले गर्ने कुनै विशेष र महत्वपूर्ण समारोह र संबोधन यही कक्षबाट हुन्थ्यो । राजा वीरेन्द्रले नेपालको संविधान २०४७ यहीँबाट घोषणा गर्नुभएको थियो । राणा प्रधानमन्त्री बीरशमशेरले आफू र आफना सन्ततिका लागि बनाएको यो दरबार राणापछि शाह राजाले आफनो दरबार बनाएका थिए ।
राजा त्रिभुवन, महेन्द्र, बीरेन्द्र र ज्ञानेन्द्रले यहीबाट मुलुकको शासन सम्हाले । राजा महेन्द्रलको परिकल्पना अनुसार अमेरिकाबाट प्राविधिक झिकाई २०२६ सालमा यस स्वरुपमा यो दरबार बनेको हो । दरबारभित्रको अर्को आकर्षक मानिने फोहोरा बंगैचाले पनि मुहार फेर्ने मौका पाएको छ । श्रीपेच आकारमा पानी निस्कने विशेषता बोकेको यो बगैंचा अलौकिक मानिन्छ । सार्कं सम्मेलनका बेला सार्क राष्ट्रका राष्ट्राध्यक्षहरु रहने सार्क पाटीलाई पनि आकर्षक बनाइएको छ । राजदरबारभित्र रहेको सिनेमा हल मर्मतसम्भारको प्राथमिकतामा छ । जहाँ राजपरिवारले आफनो चाहना अनुसार सिनेमा हेर्थे । ढुसी परेको अवस्थाामा रहेको हल सर्वसाधारणका लागि खुला गर्ने तयारीसाथ नयाँ प्रोजेक्टर ल्याइएको छ ।
कोरोना र बजेट अभावका कारण मर्मत सम्भार नहँुदा असरल्ल अवस्थामा रहेको संरचनालाई त्यसको ऐतिहासिक स्वरुप बिग्रन नदिने गरी मर्मत सम्भार थालिएको नारायणहिटी दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषराज दाहाल बताउनुहुन्छ ।
यसैगरी बेलायत सरकारले राजा वीरेन्द्रलाई दिएको गोल्डेन शाही बग्गी राख्नका लागि सोही आकारको कोठा तयार गरिएको छ । त्यतिमात्र होइन राजा बीरेन्द्रको निजी निवास श्री सदनको पछिल्लो भाग जीर्ण भएपछी धमाधम मर्मत सम्भार थालिएको छ । आफनै अगाडी राजपरिवारको बंश नाश भएको देख्ने बिगत ३४ बर्षदेखि कार्यरत नारारणहिटी संग्रहालयका संरक्षण अधिकृत बुद्धी गुरुङ भने नाश हुन लागेको ऐतिहासिक भवन पुननिर्माणमा चुनौती रहेको बताउनुहुन्छ ।
त्यसो त हत्याकाण्ड भएको मुख्य थलो त्रिभुवन सदन पुर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा भत्काएपछि अहिले त्यसको नामो निशाना छैन । त्यतिमात्र कहाँ हो र, राजदरबारको ंिसंगारका लागि ल्याइएका बहुमुल्य सामान यत्रतत्र जीर्ण अवस्थामा छरिएका छन् । राजनीतिक परिवर्तनले कुर्सी फेरेपनि इतिहास फेर्दैन । नारायणहिटी दरबार एउटा भवन मात्र नभएर साढे दुई शताब्दी धानेको शासनप्रणालीको साक्षी हो । त्यसैले यसलाई इतिहासको नासोका रुपमा संरक्षण गर्ने तर्फ प्रभावकारी काम गर्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्