२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एमाले विधान संशोधन प्रस्तावः अध्यक्ष र महासचिवमात्र निर्वाचित, पोलिटब्यूरो नराखिने


0
Shares

uml standing commitee 1st saun2078

काठमाडौं, साउन २५ । नेकपा एमालेमा अब अध्यक्ष र महासचिव दुई पदमात्र महाधिवेशनबाट निर्वाचित गरिने भएको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको एमाले स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै उक्त प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेको हो ।

उपमहासचिव एवं संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा कार्यदलले बनाएको र स्थायी कमिटीबाट पारित विधान केन्द्रीय कमिटीमा पेश गरिएको हो ।

कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्यूरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइएको छ । अध्यक्ष र महासचिव मात्र महाधिवेशनबाट निर्वाचित गरिने छ ।

अरु पदाधिकारी भने महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको तामाङले जानकारी दिनुभयो । २२५ केन्द्रीय कमिटी बनाइने प्रस्तावित विधानमा उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउन प्रस्ताव गरिएको छ ।

स्थायी कमिटीबाट पारित उक्त विधान संशोधनको प्रस्ताव केन्द्रीय कमिटीले अनुमोदन गरेमा महाधिवेशनमा लगिने छ ।

माधव नेपाल–झलनाथ खनाल पक्ष सहभागि नभएको स्थायी कमिटी र केन्द्रीय कमिटीबाट विधान संशोधन जस्तो महत्वपूर्ण प्रस्ताव पारित गरिने भएपछि एमालेमा एकताको सम्भावना झन् जटिल बन्दै गएको देखिन्छ ।