
काठमाडौं, साउन २५ । प्रधान सेनापति पूर्णचन्द्र थापाले बलाधिकृत रथी प्रभुराम शर्मालाई नेतृत्व हस्तान्तरण गर्दै बरबुझारथ गर्नुभएको छ । प्रधान सेनापति थापाले बलाधिकृत रथी शर्मालाई सङ्गठनको कमाण्ड हस्तान्तरण गर्नुभएको हो ।
सोमबार नेपाली सेनाको मुख्यालय, जंगीअड्डामा कार्यक्रम गरी प्रधान सेनापति थापाले शर्मालाई औपचारिक रुपमै बरबुझारथ गर्नुभएको हो ।
तीन वर्षे कार्यकाल सकाई भदौ २४ गतेबाट अनिवार्य अवकाश पाउँदै गर्नुभएका प्रधानसेनापति थापा त्यसको एक महिनाअघि घर बिदामा बस्न लाग्नुभएको हो । नेपाली सेनामा अवकाश पाउने सेनापतिले एक महिनाअघि घर बिदामा बस्ने प्रचलन रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले साउन २६ गते मंगलबारदेखि लागू हुने गरी शर्मालाई कायममुकायम प्रधानसेनापति तोकिसक्नुभएको छ ।
कायममुकायम जिम्मेवारी तोकिनुभएका शर्माले आगामी भदौ २५ गतेदेखि नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रुपमा सैनिक नेतृत्व सम्हाल्नु हुनेछ ।

स्वदेशमा सबै व्यावसायिक तालिम प्राप्त बलाधिकृतरथी शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्याण्ड र पाकिस्तानबाट प्रतिरक्षा एवं बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिनुभएको छ ।
सेनाको अपरेशनल योजना निर्माण र कार्यान्वयन गर्ने युद्धकार्य महानिर्देशक, बलाधिकृत र बलाध्यक्ष दुबैको जिम्मेवारीमा रहनुभएका शर्मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी समसामयिक समस्या तथा चुनौतीबारे पूर्ण जानकार हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्