
एजेन्सी । अफगानिस्तानमा हिंसात्मक गतिविधि जारी राखेको तालिवानी विद्रोही समूहले युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले गरेको प्रस्ताव अस्वीकार गरेको छ ।
अफगानिस्ताको बिग्रँदो अवस्थालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय समदुदायले युद्धविरामको प्रस्ताव गरेपनि तालिवानले अस्वीकार गरेको हो । पछिल्लो समय देशका ठूला ठूला शहर केन्द्रित आक्रमण जारी राखेको तालिवानले पाँचवटा प्रान्तिय राजधानीमा कब्जा गरेको छ ।
जसमध्ये कुन्दुज सबैभन्दा महत्वपूर्ण क्षेत्र हो । यसबीचमा अमेरिका र अफगान सरकारले विद्रोहीविरुद्ध हवाई हमला जारी राखेको छ । सो क्रममा दर्जनौं तालिवानी लडाकु मारिएको अफगान अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
तालिवानका एक प्रवक्ताले हिजो मात्रै अलजजिरा टेलिभिजनसँगको कुराकानीमा अमेरिकालाई आफूहरुविरुद्ध कारबाही नगर्न चेतावनी दिएका थिए ।
आइतबार केही घण्टाभित्रै तालिवानले उत्तरी अफगानिस्तानको तीन शहरमा कब्जा गरेको छ । आज बिहान पनि दक्षिणी शहर लश्करगाहमा रहेको प्रहरी मुख्यालय बाहिर शक्तिशाली बम विस्फोट भएको बताइएको छ । लश्करगाहमा मात्रै दुई दिनभित्र २० जनाको ज्यान गएको बताइएपनि यसको पुष्टि हुन सकेको छैन ।
यता अफगान सरकारले भने कुन्दुजमा अझैपनि विशेष सुरक्षाबलले तालीवानविरुद्ध कारवाही गरिरहेको दाबी गरेको छ । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सेना फिर्ता बोलाउने घोषणा गरेदेखिनै तालिबानले हिंसात्मक गतिविधि तीव्र पार्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्