१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकारलाई दबाव दिनुपर्ने निष्कर्ष


0
Shares

काठमाडौं, साउन २५ । प्रतिनिधि सभाअन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकको समस्या समाधानका लागि बेलायत सरकारलाई दबाव दिन सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको सोमबारको बैठकले भूतपूर्व गोरखा सैनिकहरु विभिन्न माग राख्दै निरन्तर आन्दोलनरमा रहे पनि माग पुरा हुन नसकेको समस्या समाधानका लागि बेलायत सरकारलाई ध्यानाकर्षण गराउनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले विगतमा सरकारलाई दिएको निर्देशन स्मरण गराउँदै परराष्ट्र मन्त्रालयलाई उच्चस्तरिय वार्ता समिति बनाएर वार्ता प्रारम्भ गर्न सुझाव दिएको छ ।

सांसद सुरेन्द्र बहादुर कार्कीले नेपालको असंलग्न परराष्ट्र नीति भनिए पनि व्यवहारमा नदेखिएको टिप्पणी गर्नुभयो । बेलायतले नेपाललाई स्वतन्त्र राष्ट्रको व्यवहार नगरेको उहाँको टिप्पणी थियो । सांसद प्रेम प्रसाद तुलाचनले तत्काल बेलायतसँग वार्ताको वातावरण बनाउनुपर्ने र दूताबासमार्फत् वार्ता प्रक्रिया अगाडी बढाएर दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।

सांसद सुजिता शाक्यले भूतपूर्व गोर्खाको विषय सबै नेपालीको साझा विषय भएको भन्दै उनीहरुको मागलाई सम्बोधन गर्नेगरी संसदमा सर्वसम्मत् राजनीतिक महत्वको प्रस्ताव पास गर्नुपर्ने सुझाव दिनुभयो ।

आन्दोलनरत भूतपूर्व गोर्खाको जीवन बचाउन नेपालले बेलायत सरकारको ध्यानाकर्षण गराउनु जरुरी रहेको उहाँको भनाइ थियो ।