‘यो देशको काट्टो खानेहरु हो...,’ ‘लूट्न सके लूट....अरु देशमा पाइँदैन नेपालमै हो छुट’ !

news

राजन कुईंकेल

यतिबेला नेपालमा दक्षिण एशियाली खेलकूद (साग) चलिरहेको छ । सागको यो १३ औं संस्करण हो । खेल सञ्चालन गर्नका लागि सरकारले पाँच अर्बभन्दा बढी रकम छुट्टयाएको सरकारी अधिकारीहरुले बताएका छन् ।

यो रकम सागलाई भव्य रुपमा सफल बनाउन त हो नै त्यसका साथै खेलमा सहभागि खेलाडीलाई अत्यावश्यकीय प्रबन्ध मिलाउन पनि हो । भूकम्पले ध्वस्त बनाएको दशरथ रंगशालालाई पुनर्निर्माण गरेर सागको उद्घाटन समारोह आयोजना गरियो ।

तर त्यही उद्घाटन समारोहसँग जोडिएको एउटा खबर राज्य संयन्त्रमा रहेका मन्त्रीदेखि कर्मचारी प्रशासकसम्मले खेलका लागि छुट्टयाइएको रकममा कसरी दोहन गरियो भन्ने सनसनीपूर्ण रुपमा सार्वजनिक भयो ।

अर्कातिर राष्ट्रका लागि दिलोज्यान दिएर खेल्दै गरेका खेलाडीहरुले न्यूनतम भौतिक सुबिधासम्म नपाउँदा कसरी प्रताडना भोग्नु पर्यो भन्ने चित्रण पनि सँगसँगै आयो । देशका लागि पदक ल्याउने सम्भावना भएकी एउटी खेलाडी गरीबीको मार धान्न नसकेर कसरी खेल छाडेर कतार पलायन हुनुपर्यो भन्ने अर्को पाटो उसैगरी उजागर भयो ।

पहिले कुरा गरौं, सत्ता र शक्तिमा रहेकाहरुले गरेको दोहनको प्रसंगबाट । साग खेलका लागि छुट्टयाइएको रकमबाट उपप्रधानमन्त्री, गृहमन्त्रीलगायतका मन्त्रीदेखि खेलकूदसँग जोडिएका कर्मचारी, अफिसियलसम्मले दौरा सुरुवाल, कोटदेखि कालो जुत्तासम्म हालेको खबर सार्वजनिक भयो ।

नयाँपत्रिकाले ‘ खेलकुदको बजेटमा मन्त्रीहरूलाई दौरा–सुरुवाल’ शीर्षक दिएर छापेको उक्त खबरमा, ‘मन्त्रीसहित ४० जना उच्च पदाधिकारीलाई दौरा–सुरुवाल–कोट र टोपी मात्र होइन, छालाको कालो जुत्ता र मोजा पनि निःशुल्क । तर, राष्ट्रिय क्रिकेट टिमका खेलाडीले भने उद्घाटनपछि मात्रै दौरा–सुरुवाल पाए । बजेट दुरुपयोग भएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा दौरा–सुरुवाल अस्वीकार, विवरण हेरेर मात्र सागको खर्च स्वीकृत गर्न अर्थमन्त्रालयका अधिकारीहरूसँग अनौपचारिक छलफल ।
.......गृहमन्त्रीलाई मात्र होइन, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, खेलकुदमन्त्री जगत विश्वकर्मालगायत ४० जना भिआइपीले सित्तैमा दौरा–सुरुवाल पाएका छन् । सागका लागि विनियोजित बजेटबाट उनीहरूले छालाको कालो जुत्ता, मोजा र टोपीसम्म पाएका छन् । तर, दुर्भाग्य ! नेपाली खेलाडीले दौरा–सुरुवालमा मार्चपास्ट गर्ने भनिएकोमा क्रिकेट खेलाडीका लागि दौरा–सुरुवाल सिलाउन नभ्याइएको भन्दै उनीहरूलाई ट्रयाक–सुटमै हिँडाइएको थियो ।’ उल्लेख छ ।
यद्यपि, समाचारप्रति सञ्चारमन्त्री गोकुल बाँस्कोटा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आपत्ति जनाउँदै पुष्टि गर्न सामाजिक सञ्जालमार्फत् चुनौति दिएका छन् । 

खेलकूदसँग सम्बन्धित अधिकारीले मन्त्री, सरकारी कर्मचारी र अफिसियलहरुका लागि दौरा सुरुवाल, कोट र जुत्ता खरिद गरिएको स्वीकारेका छन् ।

एकातिर सत्ताधिकारीहरुको यो मोजमस्तीसम्बन्धि खबर आइरहँदा अर्कातिर ट्रायथलनबाट मुलुकलाई स्वर्ण पदक दिलाउने सोनी गुरुङको हृदयविदारक समाचार आएको छ । दश थोत्रा साइकलका पार्टपूर्जा जोडजाड गरेर चार वटा बनाइएको र त्यही थोत्रो साइकलको भरमा सोनीले मुलुकलाई स्वर्ण जिताएको खबरले सबैलाई स्तब्ध बनाउँछ ।

‘थोत्रो साइकलले स्वर्ण’ शीर्षकमा कान्तिपुरले ‘ बुढ्यौलीले छोएपछि खिइँदै जाने दाँतजस्तै खिइएका छन् साइकलका टायर । १० थोत्रा साइकलका पार्टपुर्जा ‘एसेम्बल’ गरेर ४ वटा बनाइएको छ । त्यही थोत्रो साइकल लिएर सोनी गुरुङले १३ औं सागको ट्रायथलनमा स्वर्ण जितिन् । मुलुकको इज्जत राखिन् ।’ भन्दै छापेको छ, ‘खेलभरि साइकल पन्चर हुन्छ कि भन्ने मात्रै चिन्ता भयो,’ उनले भनिन्, ‘गतिलो साइकल भएको भए अझै चाँडै सकाउँथें ।’ सशस्त्रमा रहेकी उनी भन्छिन्, ‘साइकल चेन्ज गर्नुपर्छ भनेर कतिपल्ट भन्यौं तर सुनुवाइ भएन ।’

यी खबर र सरकारी रवैया देखेपछि केही अगाडी सरकारी ‘अरिंगाल’हरुको डसाईबाट तर्सिएर यू–ट्यूवबाट हटाउन बाध्य पारिएको गायक पशुपति शर्माको गीत,

‘लुट्न सके लुट कान्छा लुट्न सके लुट,
अरु देशमा पाइँदैन नेपालमै हो छुट..’ झल्झली याद आयो ।

त्यति मात्र होइन सत्ता र शक्तिमा रहेकाहरुले जुनसुकै बहानामा राज्यको ढुकुटी एकोहोरो लूटिरहने प्रवृत्तिप्रति व्यंग्य गर्दै केही वर्षअघि गायक जे पापीले गाएको,
‘सेता–सेता कपडामा काला–काला मान्छे,
जनताद्वारा जनताले जनतालाई भन्थे
कंगाल भए जनता नांगो पारेर,
यो देशको काट्टो खानेहरूले’ बोलको अर्को गीत पनि आँखै अगाडी नाच्न आइपुग्यो ।

यद्यपि, यि दुबै गीत सत्ताको कोपभाजनमा परेर प्रतिबन्ध लगाएसरह बनेको छ । जे पापीले २०६९ सालको शुरुतिर निकालेको उक्त गीत तात्कालीन समयमा सार्वजनिक सञ्चारमाध्यमहरुले बजाउनसमेत अस्वीकार गरेका थिए र यू–ट्यूवमा सार्वजनिक गर्नुपरेको थियो ।

पशुपति शर्माले पनि देशमा वर्षौवर्षदेखि चलिरहेको लूटतन्त्रलाई व्यंग्य गरेको गीत २०७५ फागुनको शुरुमा यू–ट्युवमार्फत् नै सार्वजनिक गरेका थिए । तर सत्ताका तावेदार ‘अरिंगाल’हरुको डसाईबाट बच्न शर्माले यू–ट्युवबाटै उक्त गीत निकाल्न बाध्य भएका थिए । तर यी दुबै गीत भ्रष्ट सत्ताको चरित्रप्रति व्यंग्य मात्र थियो ।

पछिल्लो साग खेलकूद प्रकरणमा कथित अधिकारीहरुले देखाएको लखनउ लूटको यो श्रृंखलालाई कस्ले रोक्ने ? उसोत सरकारले समाजवादी पगरी गुँथेको छ । यो पगरी गुँथेपछि सबै अपराध क्षम्य हुने हो ? समाजवादी सरकारका मन्त्रीदेखि कर्मचारीसम्मको चरित्र यस्तै हुने हो ? यस चरित्रको छाप आम जनतामा कस्तो पर्ला ? यसरी राज्यको ढुकुटी उडाउँदा लोकलाज र शरम केही लागेन ??

भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको गीता वाचन गरिरहनु भएका प्रधानमन्त्रीसमक्ष प्रश्न छ, यस हर्कतमा सहभागि र निर्णयाधिकारीमाथि कुनै कार्वाही गर्ने आँट गर्नुहुन्छ ? या उन्मुक्ति दिएर सुशासनको अर्को नमूना पेश गरिन्छ ??

यो प्रकरणमा संलग्न भएकाले यत्तिकै उन्मुक्ति पाए भने जनताले आफैलाई धिक्कार्नुबाहेक अरु त के नै होला र ? तर यस्तै यस्तै घटनाले हो मुलुकका शासकप्रति जनविश्वास गिर्दै जाने । दण्डहीनताको महलमा बसेर न त थिति कायम हुन्छ न त ‘विकास र समृद्धी’ को सपना नै साकार हुन्छ । आगे शासकहरुकै मर्जी !

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...