
काठमाडौं, साउन २६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले भ्रष्टाचारको छानबिन गर्ने विषय प्रतिशोध साँध्न नहोस् भन्दै सरकारलाई सचेत गराउनुभएको छ ।
प्रतिनिधि सभामा बोल्दै निवर्तमान प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्री खरिदबारे छानबिन गर्ने सरकारको कार्यक्रमलाई उधृत गर्दै भन्नुभयो, स्वास्थ्य सामग्री खरिद मात्र होइन शिविर प्रकरणको पनि छानबिन होस् ।
ओलीले भन्न्ुभयो, ‘सरकारले क्यान्टोलमेन्टको भ्रष्टाचारको छिनोफानो गरोस् । जनतालाई जवाफ देओस् । त्यो मात्रै होइन, ललिता निवास, मातातीर्थको जग्गा सर्दू जलाधार क्षेत्रमा भएको प्रकरणको छानबिन गरेर देखाओस् । राजनीतिक प्रतिशोध साँध्न, धम्काउन खोजेको होइन होला ।’
उहाँले वीर अस्पतालमा स्वास्थ्य सामग्री खरिद गर्दा भएको अनियमितताको पनि छानबिन गर्न आग्रह गर्दै त्यहाँ एमआरई मेशिन त्यत्तिकै धन्किएर बसेकामा ध्याानाकर्षण गराउनुभयो ।
साढे तीन वर्षसम्म आफू प्रधानमन्त्री रहँदा सिन्को नभाँचेको विषयहरुलाई संसदमा उठाउँदै ओलीले शान्ति प्रक्रिया पूरा गर्ने भनिएका सन्दर्भमा भन्नुभयो, ‘शान्ति प्रक्रिया पूरा गर्न कसले दिइरहेको छैन । को हो त्यो ? द्वन्द्वका समयमा बढी संलग्न रहेका तपाईहरुकै आग्रहमा तपाईहरुले जो चाह्यो त्यही व्यक्तिलाई दुई वटा आयोगमा राखेको होइन ? अनि किन भइरहेको छैन शान्ति प्रक्रिया पूरा ? त्यसो होइन, घाइतेको उपचार गराउँछु भन्नुस् । शरीरमा गोली भएकाहरुको गोली निकाल्छु भन्नोस् ।’
तीन तीन वर्षसम्म सरकारमा रहँदा घाइतेहरुको अवस्थाबारे जानकारीसमेत नलिएका ओलीले मंगलबार संसदमा घोषणा गर्नुभयो, ‘सरकारले गर्दैन भने नेकपा एमालेले गर्छ घाइतेको उपचार ।’
निकै आक्रोशमा देखिनुभएका ओलीले वर्तमान गठबन्धन दलमा रहेका दलहरुलाई एक एक गर्दै शब्द वाण प्रहार गर्दै थप्नुभयो, ‘गौर हत्याकाण्डमा निर्दोष नागरिक मारिएको छानबिन गर्नुस् । ती हत्काण्डहरुमा परेका परिवार र घाइतेको अवस्था के छ ? हत्याकाण्डको आयोजकको को हो ? छानबिन गर्नुस् ।’
सरकारले सुरक्षा नीति फेरबदल गर्न खोजेको भन्दै ओलीले खबरदारी गर्नुभयो, ‘सुरक्षा नीतिमा परिवर्तन गर्ने भनेको के हो ? कसरी गर्ने ? के खेलाँची हो, सुरक्षा नीति ? गठबन्धनको रंगअनुसार फेरबदल गर्ने नखोजिओस् ।’
प्रतिक्रिया दिनुहोस्