१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दार्चुला घटना छानबिन समितिको म्याद सात दिन थपियो


0
Shares

बैतडी, साउन २६ । सरकारले दार्चुला घटनाको छानबिनका लागि गठित समितिको म्याद सात दिन थपेको छ ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकालीको तुइन काटिदिँदा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

सुरुमा पाँच दिनको समय तोकिएको थियो । तर घटनाको यथार्थ पत्ता लगाउन अझै केही समय लाग्ने भएकाले थप सात दिन समय थल्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिनुभयो ।

छानबिन समितिलाई महाकाली नदीको सीमासम्म नै अनुसन्धान गर्नका लागि समय दिइएको हो । घटनाबारे यथार्थ जानकारी दिन प्रतिनिधि सभाले आज सरकारलाई रुलिङ पनि गरेको छ ।

यसैबीच छानविन गठित टोलीे आज बैतडीमा जिल्ला सुरक्षा समितिको टोलीसँग छलफल गरेको छ । महाकाली नदी दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर भएर बग्ने गर्दछ ।

भारतसँग बैतडीको ६१ किलोमिटर सीमा जोडिएको छ । उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले नियमित रुपमा खोजी गर्ने भएको छ ।

समितिले कञ्चनपुरसम्म महाकाली नदीसँग जोडिएका जिल्लाका सुरक्षा अधिकारीसँग भेटघाट गर्ने बताइएको छ ।