१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गरिब र विपन्न जनतासँग विद्युत शुल्क नलिने उर्जा मन्त्री भुषालको घोषणा


0
Shares

काठमाडौं, साउन २७ । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुषालले सरकारले २० युनिटसम्म बत्ति बाल्ने गरिब र विपन्न जनतासँग विद्युत शुल्क नलिने योजना सुनाउनु भएको छ ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आयातित ग्याँसलाई विस्थापन गर्दै स्वदेशमै उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्न विद्युत महशुल दरमा समायोजन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

किसानलाई सिचाइँमा प्रयोग हुने विद्युतमा अधिकतम सहुलियत प्रदान गर्ने निर्णय पनि भएको छ । ‘विदेशी ग्याँस छोडौँ, स्वदेशी बिजुली जोडौं’ भन्ने नाराका साथ विद्युतिय चुल्होको प्रयोग बढाउँदै लैजाने उहाँको भनाई थियो । यसै वर्षभित्र ५० ओटा विद्युतीय गाडी चार्जिङ स्टेशन बनाउने तथा हेभि ड्युडीका गाडी बाहेक ऊर्जा मन्त्रालय मातहका कार्यालयले विद्युतिय गाडी खरिद गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले जल तथा मौसम विज्ञान विभागले विश्वसनीय र भरपर्दो जल तथा मौसम सेवा उपलब्ध गराउने, स्यालो ट्यूवेल सिमान्तकृत र साना कृषकहरुको जीवनस्तर उठाउने माध्यम भएको भन्दै विद्युत बढी माग हुने समयमा महशुलमा ८० प्रतिशत र अन्य समयमा पूर्ण रुपमा छुट दिने योजना पनि सुनाउनुभयो । यसैगरी, प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरु अघि बढाउने जानकारी पनि मन्त्री भुषालले दिनुभयो ।