
काठमाडौं, साउन २७ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गर्नु भएको छ ।
प्रधानन्यायाधीश जबराले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्क गर्नुभयो ।
नेपाल कानून व्यवसायी परिषद्ले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले न्याय पालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताउनुभयो ।
प्रधानन्यायाधिश जबराले आफूले कहिल्यै पनि दवाव र प्रभावमा परेर फैसला गर्ने नगरेको दावी समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको बताउनुभयो । उहाँले कानूनी राज्यको स्थापना गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैलाई लाग्न पनि आह्वान गर्नुभयो ।
मन्त्री कार्कीले मुलुकको समृद्धि र विकास सबैको चाहना भएको उल्लेख गर्दै त्यसमा हरेक क्षेत्रको योगदानको आवश्यक्तामा पनि जोड दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्