१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त


0
Shares

काठमाडौं, साउन २८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुल प्रसाद केसी नियुक्त हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहनुभएका नेता केसी मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उहाँलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । यसअघि, लुम्बिनी प्रदेश सरकारमा दाबी गर्दै चार दलीय गठबन्धनले ४२ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएको थियो ।

गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका त्रिपाठी केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए । मुख्यमन्त्री केसीले आजै शपथ ग्रहण गरेर सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गर्नुभएको छ ।

अल्पमतमा परेपछि एमाले नेता शंकर पोखरेलले बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।