काठमाडौं, साउन २९ । मानव बेचबिखनलाई न्यूनीकरण गर्न आर्थिक सशक्तिकरण, शिक्षामा पहुँच र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले सरकारलाई निर्देशन दिएको छ ।
समितिको शुक्रबारको बैठकले जोखिम क्षेत्रमा केन्द्रित भएर मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि काम गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति निरुदेवी पालले जानकारी दिनुभयो । बैठकले हराएका व्यक्तिहरुको खोजीका लागि दिइएको उजुरी सबै प्रहरी कार्यालयमा सर्कुलर हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरेको छ ।
समिति सदस्यहरुले तीन वटै तहका सरकारले बलियो सहकार्य गरेर मानव बेचबिखन नियन्त्रण तथा हराएका व्यक्तिहरुको खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले भने सरकारले सामाजिक अपराधका घट्ना न्यूनीकरणलाई प्रथमिकतामा राखेको जानकारी दिनुभयो ।
तीन वटै तहको सरकारसँग समन्वयमा सामाजिक अपराधका घटना न्यूनीकरण गरिने उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्