३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


कांग्रेस क्रियाशील सदस्यता विवाद समाधानको माग गर्दै एक महिनादेखि कार्यकर्ता धर्नामा


0
Shares

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसको केन्द्रिय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ ।

पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित कांग्रेस केन्द्रिय कार्यालय विगत एक महिनायता आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको हो ।

३४ दिनयता लगातार क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानविन गर्नुपर्ने माग सम्बोधन नभएकाले पार्टी केन्द्रिय कार्यालयमा सुरु गरिएको धर्नालाई निरन्तरता दिनुपरेको नेपाली कांग्रेस बाराका नेता उपेन्द्र यादवले बताउनुभयो । उहाँले आफूहरुलाई न्याय नदिएसम्म जिल्ला नफर्कने बताउनुभयो ।

त्यस्तै, ३० दिनयता पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता, कार्यकर्ताहरुले पार्टीको विधि र विधान विपरित क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा आफूहरु पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिने कामलाई जारी राख्न बाध्य हुनु परेको बताएका छन ।

नेपाली कांग्रेसको क्रियाशील सदस्य सम्बन्धमा देखिएको विवादका कारण पार्टीको वडा तहको अधिवेशन समेत रोकिएको छ । पार्टीको तल्लो तहको अधिवेशन रोकिएपछि आगामी भदौं १६–१९ काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशन पछि सार्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको छ ।