८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कांग्रेसका युवा नेताहरु भन्छन् : बैचारिक विद्रोह गरेरै पार्टीमा अवसर लिन्छौं


0
Shares

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चितताका लागि दबाब दिंदै आगामी नेतृत्वमा युवाले अवसर पाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार ललितपुरमा नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा कांग्रेस नेता लाओस राईको अगुवाइमा भेला भएका युवाहरुले कांग्रेसमा अब पुस्ता हस्तान्तरण आवश्यक रहेको औंल्याएका हुन् ।

भेलामा नेपाली कांग्रेस संसदीय दल प्रदेश नम्बर १ का प्रमुख सचेतक केदार कार्कीले शीर्ष नेताहरुले आगामी महाधिवेशनमार्फत पुस्ता हस्तान्तरण गर्न तत्पर रहनुपर्ने बताउनुभयो ।

उहाँले ‘यतिबेला महाधिवेशन सुनिश्चितताका लागि उभिनुपर्ने बेला आएको छ । पार्टी बचाउने एजेण्डा लिएर अघि बढ्नुपर्ने बेला आएको छ । त्यसैले यस्तो बेला शीर्ष नेताहरुले नबुझे युवाहरु हिम्मत गरेर नेतृत्वमा आए मात्र कांग्रेस बचाउन सकिनेछ ।’ बताउनुभयो ।

नेविसंघ पूर्व केन्द्रीय सदस्य विरेन्द्र कुमार शर्माले कांग्रेसको मुहार फेरिए मात्र नेपालको मुहार फेरिने भएकाले त्यसका लागि युवाहरु तत्पर हुनुपर्ने धारणा खाख्नुभयो ।

कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य महेश नेपालीले समाज रुपान्तरण गर्ने राजनीति आवश्यक रहेकाले कांग्रेस युवाहरुले सम्हाल्नुपर्ने बचाउनुभयो ।

नेविसंघ दोलखाका सभापति भीम खड्काले युवाहरुको निरिहपनाका कारण पार्टीको बैधानिकता संकटमा परेकाले युवाहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै नेतृत्वमा आउनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता प्रकाश महर्जनले नेतृत्वले युवाहरुलाई भत्काउन र तोडफोड गर्न मात्र प्रयोग गरेको तर अवसरमा बन्चित गरेकोमा चिन्ता ब्यक्त गर्नुभयो । कार्यक्रममा नेविसंघका पूर्व केन्द्रीय सदस्य सानुबाबु महर्जन, कांग्रेस प्यूठानका नेता विरेन्द्र थापा, नेविसंघ नेता सुदर्शन शर्मा, ध्र्रुव गैरेलगायतले आफ्नो धारणा राख्नुभयो ।

कार्यक्रमका सहभागीहरुले आगामी दिनमा पार्टी सुदृढ बनाउन र नेताहरुलाई खबरदारी गर्न बैचारिक बहसलाई निरन्तरता दिने बताए ।