
काठमाडौं, भदौं ३ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले प्रस्तावित नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई साथ दिने हुनुभएको छ ।
एमाले अध्यक्ष केपी ओलीसँग रहन नसक्ने भन्दै नेता गौतमले एमाले समाजवादीको नेतृत्व गर्नुभएका नेता नेपाललाई साथ दिने प्रष्ट गर्नुभयो । नेकपा फुटेयता पार्टी एकता अभियान चलाउँदै आउनुभएका नेता गौतमले बिहीबार भने नेपालतिर लाग्ने आफूनिकटका नेता कार्यकर्तालाई जानकारी गराउनुभएको हो ।
अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढने बताउँदै उहाँले ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि जिकीर गर्नुभयो ।
अब विद्रोहको विकल्प छैन भन्दै उहाँले थप्नुभयो, ‘अब ओलीको पक्षमा लागेर, उनीसँग हिँडेर केही गर्न सकिँदैन, कहीँ पुग्न सकिँदैन । अब हामीसँग विद्रोह नै विकल्प हो । नयाँ पार्टीलाई अहिलेको एमालेभन्दा शक्तिशाली बनाउने अभियानमा लाग्छौँ । त्यसपछि पार्टी एकतामा जोड दिन्छौँ ।’
अझै पनि पार्टी एकताको सम्भावना रहेको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्