९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


फुटबलको फाइनलकै दिन रंगशालामा प्रहरीले कुट्यो समर्थक


0
Shares

काठमाडौं, मंसिर २४ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रहरीको कुटाईबाट केही फुटबल समर्थक घाइते भएका छन् । फुटबलको फाइनल हेर्न टिकट खोज्दै पुगेका फुटबल समर्थकमाथि प्रहरीले लाठी प्रहार गरेको हो ।

प्रहरीबाट समाचार संकलन गरिरहेका र तस्वीर खिचिरहेका पत्रकारसमेत कुटिएका छन् । प्रहरीको कुटाईबाट नागरिक दैनिकका पत्रकार सुमन चापागाई घाइते भएका छन् ।

आज १३औं सागको पुरुष फुटबलको फाइनलमा नेपाल र भुटानबीच खेल हुँदैछ । त्यसपछि सागको समापन समारोह पनि हुँदैछ ।

त्यसका लागि टिकट खोज्दै मानिसहरु रंगशाला पुगे पनि सबै टिकट बिक्री भइसकेकाले पाउन सकेनन् । त्यही जम्मा भएको भीड हटाउने भन्दै प्रहरीले फुटबल समर्थकमाथि लाठी वर्षाएको हो ।

प्रहरीले घेरा हालेर कुटेको भन्दै समर्थकहरुले विरोध गरेका थिए । प्रहरीले दर्शक कुट्न थालेपछि फोटो खिच्न पुगेका पत्रकारमाथिसमेत दुव्र्यवहार गरिएको हो । पत्रकार कुटिएकोमा रंगशालामा भेला भएका पत्रकारहरुले आपत्ति जनाएका छन् ।