
काठमाडौं, भदौं ८ । अफगानिस्तानको राजनीतिक घटनाक्रमका कारण उत्पन्न चुनौती सम्बोधनका लागि तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको पहल गर्न पूर्वराजदूतहरुले आग्रह गरेका छन् ।
पाँच जना पूर्व राजदूतले एक विज्ञप्ति निकाली अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय भएको उल्लेख गर्दै सार्क अध्यक्ष राष्ट्रका हैसियतले वार्ताको पहल थाल्न आग्रह गरेका हुन् ।
यसरी आग्रह गर्नेमा रुसका लागि पूर्व नेपाली राजदूत हिरण्यलाल श्रेष्ठ, भारतका लागि पूर्व राजदूतहरु दीपकुमार उपाध्याय र दुर्गेशमान सिंह, अमेरिका र बेलायतका लागि पूर्व राजदूत डा. सुरेश चालिसे र चीनका लागि पूर्व नेपाली राजदूत डा. महेश मास्के हुनुहुन्छ ।
विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय भएको छ । त्यहाँ विकसित भैरहेको स्थितिले यो क्षेत्रको सामाजिक, आर्थिक, आप्रवासन र सुरक्षा मामलामा दूरगामी परिणाम पर्ने निश्चित छ ।’
राजदूतहरुले लेखेका छन्, ‘यद्यपि तालिबानले अफगानिस्तानमा आममाफीको घोषणा गरेको छ, महिलालाई काम, स्कुलमा फर्कन र सरकारमा सहभागी हुन आह्वान गरेको छ र देशको शासनको लागि अन्य समूहहरुसँग वार्ता गरी समाधान निकाल्नको लागि काम गरिरहेको छ. तर उनीहरुले मान्यता पाउनको लागि अन्तर्राष्ट्रिय समुदायलाई गरेको अपिल सत्तामा रहँदाको उनीहरुकै विगतको व्यवहार र वर्तमानमा देश छाड्न चाहने नागरिकहरुप्रतिको दुर्व्यवहारको कारणले गर्दा संशयको घेराभित्र छ ।’
नेपाल सरकारलाई वार्ताका लागि पहलकदमी लिन आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यो गम्भीर मोडमा सार्कको अध्यक्षको हैसियतमा नेपालले यस क्षेत्रमा स्थिरताको लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ । हामी नेपाल सरकारलाई अफगानिस्तानको राजनैतिक घटनाक्रमले उत्पन्न चुनौतिहरुलाई सम्बोधन गर्न तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको लागि आवश्यक पहल गर्नको लागि आग्रह गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्