
काठमाडौं, भदौं ९ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आज दिउँसो २ बजेदेखि पार्टी कार्यालयमा २४ घण्टे धर्ना दिँदैछन् ।
आफूहरुले उठाएका मागहरु पार्टी नेतृत्वले सम्बोधन गर्न ननमानेको भन्दै उनीहरु चौबीस घण्टे धर्नामा बस्न लागेका हुन् । यसअघि, मंगलबार जिल्ला सभापतिहरुले विहान ११ बजे धर्ना दिएका थिए । माग सम्बोधनका लागि सांकेतिक धर्ना दिएका उनीहरुले आजबाट भने धर्ना लम्ब्याउँदै २४ घण्टा पु¥याएका हुन् ।
क्रियाशील सदस्यता सार्वजनिकलगायतका तीन सूत्रीय मागसम्बन्धमा क्रियाशील सदस्यता विवाद समाधान समितिका सदस्य डा. मिनेन्द्र रिजालसँग आज विहान भएको छलफलमा सहमति नबनेपछि उनीहरु धर्नामा फर्केका हुन् ।
डा. रिजालसँग भएको छलफलमा सहमति नभएपछि दिउँसो २ बजेदेखि २४ घण्टे धर्ना थाल्ने निर्णय गरिएको सिन्धुपाल्चोकका सभापति विकास लामाले जानकारी दिनुभयो ।
संस्थापन इतर समूहका जिल्ला सभापतिहरु तीन बुँदे माग राखेर मंगलबारबाट आन्दोलनमा होमिएका हुन् । उनीहरुले ‘क्रियाशील सदस्यता सूची सार्वजनिक गर्ने, सूचीमा भएका कमजोरी विधिसम्मत ढंगले टुंग्याउने र आगामी महाधिवेशनकाे निर्वाचनका लागि सबैतिर समान व्यवस्था हुनुपर्ने’ माग राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्